चर्को मुल्यमा उपचार गराउँदै मानसिक रोगका बिरामी
Tuesday, February 22nd, 2022, 8:36 am
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १० फागुन
आधुनिकताको विकाससँगै नेपाली समाजमा मानसिक स्वास्थ्य समस्याहरु पनि बढदै गएका छन । सामाजिक संजालको बढ्दो प्रयोग र प्रविधिको विकासले मानसिक समस्या थप बढाउन सघाईरहेको छ । खानपान, जीवनशैली जस्ता विविध कारणले मानसिक स्वास्थ्य समस्या बढदै गएपछि यसको बारेमा स्थानीय स्तरमा समाधानको लागि प्रयास थालिनु पर्नेमा जोड दिइएको छ । अर्को तर्फ यसको सहज उपचार भएपनि मानसिक रोगका विरामी पहुँच भन्दा टाढा रहने गरेको स्वास्थ्यकर्मीले बताएका छन ।
बैजनाथ गाउँपालिकामा भएको एक कार्यक्रममा मानसिक स्वास्थ्य समस्यालाई स्थानीय पाठ्यक्रममा राख्नुपर्ने सुझाव प्राप्त भयो । सोमबार भएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवीले स्थानीय पाठ्यक्रममा राख्नुपर्ने जोड दिए । बैजनाथ गाउँपालिका र बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल)को आयोजनामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका कार्यपालिकाका सदस्य गुमान बहादुर दमाईले मानसिक स्वास्थ्य सम्बन्धी जानकारी तथा जनचेतनामुलक सामग्री स्थानीय पाठ्यक्रममा राख्नुपर्ने धारणा राखे ।
‘अहिले समाजमा मानिसक समस्या तिव्र रुपमा बढेको पाइन्छ, त्यसको न्यूनिकरण गर्नका लागि पनि पाठ्यक्रममा समावेश गर्दा निकै प्रभावकारी हुने थियो’ उनले भने । जनजागरण आधारभुत विद्यालयका शिक्षक नविन केसीका बालबालिकाहरुमा समेत मानसिक समस्या देखिन थालेको बताए ।
अहिले मोवाइलमा अनेकौं अनलाइन ग्याम, फेसबुक, टिकटक अन्य गतिविधिहरुको नजिर भएकोले होला उनले भने एकोहोरो हुने, प्रश्न गर्दा अल्मलिने, निद्रामा भएको जस्तो देखिने, क्रियाकलापमा सक्रिय रुपमा भाग नलिने, एकल बस्न रुचाउने र शिक्षकहरुले भनेको नमान्ने अटेरी गर्ने, छिटो रिस उठाउने जस्ता समस्या देखा परेका छन् । यस किसिमका मानसिक समस्याका कारणले बालबालिकाको शैक्षिक क्षेत्रमा प्रगति हुन नसकेको र यो निकै गम्भिर विषय रहेको केसीको भनाई थियो ।
महिला स्वास्थ्य सेविका भावना चौधरीका अनुसार समुदायस्तरमा मानसिक रोगको उपचारको सहज पहुँच नभएको, धेरैजसो मानसिक रोगको औषधीहरु निःशुल्क पाइने भएपनि चर्को मुल्यमा उपचार गराउनुपर्ने बाध्यता रहेको बताइन् ।
मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने गरेको उनले बताइन । उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपम देखिएको उनको भनाई थियो ।
बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) का कार्यकारी निर्देशक कमल गौतमले समुदायमा मानसिक रोगबारे भएका लाञ्छाना तथा विभेदको रोकथाम गर्न र सर्वसाधरणलाई निःशुल्क उपचारको पहुँच विस्तार गर्ने उद्देश्य रहेको बताए । उनका अनुसार मानसिक स्वास्थ्यलाई सरकारी पक्षबाट यथेष्ट प्राथमिकता नभएको अवस्थामा स्थानियतहबाट यस्ता कार्यक्रम प्राथमिकताका साथ पाठ्यक्रममा राख्दा कस्तो होला ? उनले पश्न गरेका थिए । गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने टीपीओ नेपालका कार्यकारी निर्देशक गौतमले बताए ।