कांग्रेस बाँकेको निर्वाचन : देउवा प्यानलबाट कुर्मी, हमाल र सिजापति सभापतिका दावेदार
Tuesday, February 22nd, 2022, 6:57 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशन अन्तर्गत हुन लागेको निर्वाचनका लागि संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । संस्थापन पक्षमा एकल उम्मेदवारी दिने प्रयास गरिएपनि त्यो सफल हुन नसक्दा अब तीन जना आकांक्षीहरु मैदानमा आउने पक्का भएको छ । सभापति पदमा सुरेन्द्र हमाल,बादशाह कुर्मी र निरञ्जनसिंह सिजापतिले उम्मेदवारी दिने घोषणा गरेका छन् । यद्धपि यीमध्ये कुर्मीले मात्रै औपचारिकरुपमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनको मिति फागुन १५ गते तोकिएको छ ।
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका हमालले मंगलबारबाट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । उनले छिन्नभिन्न भएको पार्टीलाई एक बनाउन उम्मेदवारी दिन लागेको बताएका छन् । हमाल बाँके क्षेत्र नम्बर २ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधी छन् ।
बादशाह कुर्मीले भने तीन महिनाअघि उम्मेदवारी घोषणा गरिसकेका थिए । कुर्मीले सबैभन्दा पहिले उम्मेदवारी घोषणा गर्दै प्रचार प्रसार सुरु गरेका थिए । कुर्मी संस्थापनतर्फको आफू एकल उम्मेदवार भएको दावी गर्छन् । तर उनले भनेजस्तो आन्तरिक समीकरण बनेको छैन । कुर्मी संविधान सभा सदस्य समेत रहीसकेका व्यक्ति हुन् भने क्षेत्र नम्बर ३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधी चुनिएका छन् ।
यसैगरी सिजापतिले आफूले उम्मेदवारी दिने बताएका छन् । उनी क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधी छन् । उम्मेदवारी दावी गरेका तीनै जनाले आफ्नो टिम भने बनाउन सकेका छैनन् ।
संस्थापनबाट सभापतिमा धेरै उम्मेदवार भएपनि पदाधिकारी र कार्यसमिति सदस्यको एउटै प्यानल बनाउने तयारी रहेको संस्थानि सम्बद्ध नेताहरु बताउँछन् । एउटै प्यानल बनाउन पार्टीका केन्द्रीय सहमहामन्त्री एवम् देउवा निकट नेता किशोरसिंह राठौंर लागिरहेका छन् ।
देउवा प्यानलबाट सुनिलनरसिंह राणा, राजकुमार वर्मा र लक्ष्मीनारायण शाह पनि आकांक्षी मानिएका थिए । शाहले कांग्रेसको लुम्बिनी प्रदेश सह-महामन्त्रीको उम्मेदवार बनेपछि उनले जिल्ला सभापतिको दाबी छाडेका छन् । देउवा प्यानलबाटै सभापतिका आकांक्षी बर्मा र राणा चुनाव नलड्ने निस्कर्षमा पुगेको स्रोतले बतायो ।
संस्थापनबाट दुई उपसभापतिका लागि सुरेन्द्रनाथ सापकोटा, कृष्ण कार्की, सुदिपनरसिंह राणा, देबबहादुर केसी, रविन्द्र हमाल आकांक्षी छन् । दुई सचिवका लागि मेघराज ओली, निमबहादुर चलाउने (निरज), रुद्रबहादुर ओली लगायतको दाबी छ । सहसचिवमा रामकुमार राँढ, पुरनसिंह ठकुरी, विनोद थारु लगायत आकांक्षी छन् ।
संस्थापन इतर(शेखर कोइराला) प्यानलबाट नारायणप्रसाद गौडेल भने एक मात्र उम्मेदवार हुन् । क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधी चुनिएका गौडेलको नेतृत्वमा पदाधिकारी र सदस्यहरु उम्मेदवारको टुंगो लगाएर प्रचार प्रसारमा होमिइसकेका छन् ।
सभापतिमा धेरै उम्मेदवार भए पहिलो चरणमा परिणाम निस्कने सम्भावना निकै न्यून हुनेछ किनकी सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ । ५० प्रतिशत बढी मत नआए धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।
फागुन १२ गते बिहीबार उम्मेदवारी दर्ता गरेर १५ गते निर्वाचन गर्ने कार्यतालिका बनाइएको छ ।