खपत हुने वस्तु उत्पादनमा डिडिसी उदासिन
Wednesday, February 23rd, 2022, 5:30 am
Kalpristha
यसवर्ष लस्सी उत्पादन गर्ने तयारीमा डिडिसी नेपालगन्ज
–वीरेन्द्र जैसी
दुग्ध बिकास संस्थान (डिडिसी), नेपालगन्ज दुग्ध बितरण आयोजना कोहलपुरको गोदाममा गत वर्ष झण्डै ८० करोड बराबरको पाउडर दुध र मख्खन बिक्रि नभएर थन्कियो छ । किसानले लामो समयसम्म भुक्तानी पाएनन् । त्यसको कारणमा कोरोना महामारीका कारण दुधको खपतमा आएको गिरावटलाई मुख्य कारण भनियो । तर त्यतिमात्रै कारण थिएन । दुग्ध उत्पादनको विविधिकरण नहुनु पनि मुख्य कारण थियो । त्यही भएर यस्तो समस्या डिडिसीमा समयसमयमा आइरन्छ ।
हुन दुग्ध विकास संस्थानले करिब डेढ दर्जन परिकारहरु उत्पादन गर्ने गरेको प्रचार गर्छ । तर नेपालगन्जमा हाल मुख्यतः ५ किसिमका परिकारहरु मात्रै उत्पादन भइरहेका छन् । दुग्ध वितरण आयोजना नेपालगन्जका प्रमुख योगेन्द्र शाहका अनुसार हाल मुख्यतः दही, चिज, पनिर, मख्खन र घ्यु उत्पादन भइरहेको छ । उनी तीन किसिमको दही उत्पादन भइरहेको बताउँछन् ।
तर नेपालगन्जमै दुधबाट बनेका अनेक परिकारहरुको माग उच्च छ । बजारमा खपत हुन सक्ने परिकारको उत्पादनमा डिडिसीले ध्यान दिन नसकेको पाइएको छ । नेपालगन्जमा रावडीको खपत धेरै राम्रो हुने गरेको मिठाई व्यापारीहरु बताउँछन् । यसका साथै अधिकांश महिना गर्मी हुने नेपालगन्जमा आइसक्रिम र लस्सी लगायतका उत्पादनको खपत पनि बढी हुन्छ । तर दुग्ध विकास नेपालगन्जको कार्यालय कोहलपुरमा आइसक्रिम बनाउने उपकरणहरु नै नभएको प्रमुख शाहले बताए । यसका साथै बोत्तलका सोडायुक्त पेय पदार्थको विकल्पमा फ्रेस मिल्लको माग पनि बरिरहेकोमा नेपालगन्जमा अन्य केन्द्रहरुबाट मगाउने गरिएको छ ।
यद्धपि शाहले यसवर्ष लस्सीको उत्पादन गर्ने योजना रहेको भने बताए । ॅगर्मी हुने शहर भएकोले पनि लस्सीको खपत बढी हुन्छ भन्ने हाम्रो अपेक्षा हो । म आएदेखि नै यसको योजना बनाएको थिएँ । तर कोरोनाका कारण सफल भएन । यसवर्ष यसको उत्पादन गर्ने हाम्रो योजना छ,’ शाहले भने । यसका साथै लालमोहन लगायतका मिठाई उत्पादनतिर पनि ध्यान गएको उनको भनाइ छ ।
डिडिसीमा दुधको प्रत्यक्ष खपत संकलनको तुलनमा अत्यन्त न्युन छ । नेपालगन्ज आयोजना प्रमुख शाहका अनुसार नेपालगन्जमा हाल दैनिक करिब १० हजार लिटर दुध संकलन हुन्छ । खपत भने दैनिक बढीमा १५ सय लिटर रहेको छ । त्यसमध्ये करिब एक हजार लिटर त दुधमात्रै बिक्री हुन्छ । खपत नभएको दुधलाई पाउडर बनाएर माग बढी हुने र संकलन कम हुने समयमा बिक्री गर्ने गरिन्छ ।
आयोजनाको नेपालगन्ज केन्द्रले बाँके, बर्दिया, दाङ, सुर्खेत र पश्चिम रुकुम गरी पाँच जिल्लाका व्यवसायिक किसान एवं सहकारीकाबाट दुध संकलन गरी वितरण गर्ने गरेको छ । दुध संकलन र बिक्री मात्रै नभई उत्पादनमा विविधिकरण गरेर दुधको खपत बढाउने आयोजनाको लक्ष्य हो । तर आयोजना अहिलेपनि सुरुवाती उत्पादनमै अल्झिएर बसिरहेको उपभोक्ताहरुको गुनासो छ ।