जानकीले सुरु गर्यो एम्बुलेन्स सेवा
Tuesday, February 22nd, 2022, 8:05 pm
Kalpristha
बाँकेको जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा सन्चालनमा ल्याएको छ । मंगलबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धितालले विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गरिन् । कार्यवाहक अध्यक्ष धितालले एम्बुलेन्स सेवा संचालनसँगै एम्बुलेन्स नपाएर स्थानीय बासिन्दाले ज्यान गुमाउनुपर्ने अवस्थाको अब अन्त्य भएको बताइन् ।
उनले स्थानीय नागरिकले जटिल प्रकारका बिरामी हुँदा बेहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन् भन्नका लागि गाउँपालिकाले एम्वुलेन्स खरिद गरेको बताईन । अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउने उनले बताइन् ।
पालिकामा गाडी र एम्बुलेन्स खरिदका लागि गाउँ कार्यपालिका बोर्डले २०७६ माघ १० गते नै निणर्य गरेको भएपनि एम्बुलेन्स खरिद दुई बर्षपछि बल्ल अहिले कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए ।
उक्त निणर्य अनुसार स्करपियो गाडी तत्काल खरिद भएको तर एम्बुलेन्स भने हालसम्म खरिद भएको थिएन । गाउँपालिकाले नेपाल सरकारको राजश्व छुट गरेर ११ लाख ८१ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरी सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । गाउँपालिकाभित्रका गरिब, विपन्न, अपाङ्ग, जेष्ठ नागरिक लगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याइएको उनले बताए ।
अब बाँकेका नेपालगन्ज र कोहलपुरबाहेक सबै स्थानीय तहसँगै आफ्नै उम्बुलेन्स भएको छ ।