जिल्ला फुटबल संघको निर्वाचन स्थगित
Wednesday, February 23rd, 2022, 6:59 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ११ फागुन
प्राविधिक समस्या देखाउँदै अखिल नेपाल फुटबल संघ(एन्फा)ले जिल्ला फुटबल संघको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरेको छ । जिल्ला फुटबल संघको निर्वाचन यसअघि फागुन १५ देखि ३० गते सम्म गर्नको लागि एन्फाले सबै सदस्य जिल्ला संघहरुलाई पत्राचार गरेको थियो । तर मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले अर्को सुचना जारी नभए सम्मका लागि जिल्ला संघहरुको निर्वाचन स्थगित गरेको हो । यसैगरी एन्फाको निर्णयसँगैं फागुन २१ गते हुने भनिएको बाँके जिल्ला फुटबल संघको निर्वाचन पनि स्थगित भएको छ ।
यो निर्णयसँगै एन्फाको जेठ १५ गते हुने भनिएको केन्द्रिय निर्वाचनको तालिका प्रभावित हुने भएको छ । गत माघ २० मा बसेको अघिल्लो कार्यसमिति बैठकले जेठ १५ मा केन्द्रको निर्वाचन गर्ने र त्यसका लागि प्रतिनिधि चयन गर्ने विभिन्न ४७ जिल्ला संघको निर्वाचन फागुन १५ देखि ३० गतेसम्ममा भइसक्नुपर्ने निर्णय गरेको थियो ।
एन्फा सचिवालयले त्यो समयसिमा भित्र साधारणसभा मार्फत नयाँ नेतृत्व चयन गरिसक्नका लागि सबै जिल्ला संघलाई पत्राचार पनि गरिसकेको थियो । एन्फा निर्वाचनका लागि निर्वाचन नियमावली टुंगो लगाउने भनेर डाकिएको बैठकले फिफाको निर्देशनअनुसार नियमावलीमा परिवर्तन गरेर निर्वाचन कार्यतालिका बनाउने पनि निर्णय गरेको छ । यसअघि निर्वाचन नियमावलीकै कारण अघिल्लो कार्यसमिति बैठकले तय गरेको विशेष साधारणसभा दुई पटकसम्म स्थगित भइसकेको छ ।
यसैगरी बैठकले उपाध्यक्ष वीरबहादुर खड्काले बुझाएको प्रतिवेदनअनुसार वित्तीय निर्देशक निरञ्जन शाहलाई निलम्बन गरी थप आवस्यक कारबाहीका लागि महासचिव इन्द्रमान तुलाधरलाई निर्देशन दिएको छ । उपाध्यक्ष खड्कालाई पुस २२ गतेको कार्यसमिति बैठकले शाहमाथि लागेको आर्थिक हिनामिनाको आरोपमाथि छानविनको जिम्मा दिएको थियो । खड्काले माघ २० को अघिल्लो बैठकमा आफ्नो प्रतिवेदन बुझाएका थिए । शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको तथा लिग समितिका सदस्य गौरिमान राईले बुझाएको नगद ३५ हजार हिनामिना गरेको आरोप छ । राईले सहिद स्मारक ‘सी’ डिभिजन लिगका लागि लिएको एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेस्की फछ्र्यौट गरेका थिए ।