डुडुवामा १० शैय्याको जेष्ठ नागरिक उपचार केन्द्र बन्ने
Wednesday, February 23rd, 2022, 6:05 pm
Kalpristha
डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १० सैय्याको उपचार केन्द्र निर्माण गर्ने भएको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगणमा आठ कोठे उपचार केन्द्र भवनको बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भवनको शिलान्यास गर्दै जेष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी उनीहरुको निःशुल्क उपचार तथा औषधी वितरण गर्ने लक्ष्यसहित उपचार केन्द्र बनाउन लागिएको बताए ।
उनले डुडुवामै विशेषज्ञ सुविधा र प्रयोगशालामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको जानकारी दिँदै घर-घरमै गएर सेवा प्रदान गर्ने अवधारणालाई पनि अघि बढाएको उल्लेख गरे । उनले उपचार केन्द्र सन्चालनमा आएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि बजार जानुपर्ने बाध्यताको अन्त्य हुने दावी गरे ।
७९ लाख बजेटमा निर्माण हुने उपचार केन्द्रको भवनमा ५—५ बेडको महिला र पुरुषका लागि छुट्टै वार्ड, एक्सरे कक्ष, इसिजी कक्ष, अल्ट्रासाउण्ड कक्ष, फार्मेसी कक्ष, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला कक्ष र शौचालयसहितको अत्याधुनिक भवनको निर्माण हुने गाउँपालिकाका इन्जिनियर प्रकाश थापाले बताएका छन् ।
तीन महिनामा निर्माण सम्पन्न गर्ने गरी दिपक विल्डर्स प्रालि कोहलपुर बाँकेले भवन निर्माणको ठेक्का पाएको छ । वहुवर्षिय योजना अन्र्तगत आगामी वर्षहरुमा थप भौतिक पुर्वाधार निमाणर् गरी सेवास्तर बृद्धि गरी लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
डुडुवा गाउँपालिकाले गाउँपालिकाले हाल घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत तीन स्थानमा निःशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठ वटा स्थानमा स्वास्थ्य केन्द्रको संचालन, दुई वटा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।