उद्घाटन खेलमा राझाँको भैरवप्रसाद गण विजयी
Wednesday, February 23rd, 2022, 7:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ फागुन
कमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गणले विजयी सुरुआत गरेको छ ।
राझाको भैरव प्रसाद गण नेपालगन्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ ले हरायो ।
खेल सुरु भएको करिब २० सेकेन्डमै जुम्लाको नन्दबक्सले गोल गर्दै खेलमा अग्रता लिएको थियो । श्याम बहादुर विष्टले गोल गर्दै सुरुआती मिनेटमा नन्दबक्सको लागि गोल गरेका थिए ।
पहिलो अटयाकिङ मुभमेन्टमा भैरवप्रसादका रक्षकहरुले डिबक्समा बल नियन्त्रण गर्न अलमल गरेका थिए । त्यसको तत्कालै फाइदा उठाउँदैं श्यामले गोल गर्न सफल भएका थिए ।
सुरुआतमा गोल गरेपनि नन्दबक्सलाई अग्रता जोगाउन निकैं अप्ठयारो भएको थियो। एकोहोरो आक्रमक रुपमा देखिएको भैरवप्रसाद गणको तर्फबाट ५२औं मिनेटमा भुपेन्द्र रानाले गोल गर्दै खेल बराबरी गरेका थिए ।
त्यसपछि भने भैरवप्रसाद खेलमा झन हाबी भएको थियो । भैरवका लागि ८१औं मिनेटमा संगम चौधरी र ८९औं मिनेटमा भुपेन्द्र रानाले गोल गर्दै प्रतियोगिताको सुरुआती खेलमा आफनो टिमलाई सफलता दिलाए ।
बुधबार प्रतियोगिताको उद्घाटन श्री नम्बर ४ बाहिनी अडडाका निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार विष्ट, भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतले गरेका थिए ।
बुधबारबाट सुरु भएको प्रतियोगितामा पश्चिम कमाण्ड अन्तर्गत चार वटा बाहिनी अड्डाका आठ युनिटको टिमले प्रतिस्पर्धा गरिरहेका छन ।
यस प्रतियोगिताको विजेता टिमले चैत १६ देखी जेठ २ गते सम्म चल्ने प्रधानसेनापति ट्रफीमा खेल्न पाउनेछन । प्रतियोगितामा भैरवप्रसाद गण राझा नेपालगन्ज, नयाँ सबुज गण सुर्खेत, चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट, भवानी दल गण तेघरी ब्यारेक कैलाली, भवानी बक्स गण अछाम, नन्दबक्स गण जुम्ला, रुद्रध्वज गण सिलगढी ब्यारेक डोटी र रण बमगण डडेल्धुराको सहभागिता रहेको छ ।