कांग्रेस बाँकेको निर्वाचन पुनः स्थगित
Wednesday, February 23rd, 2022, 7:49 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको निर्वाचन पुनः स्थगित भएको छ । केन्द्रिय निर्वाचन समितिले पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा दर्ता भएको एमसीसीका सम्बन्धमा संघीय सांसदहरुलाई ह्वीप जारी गरेकोले सांसदहरु भएका जिल्लामा फागुन २० गतेभित्र निर्वाचन गर्ने व्यवस्था मिलाउन जिल्ला निर्वाचन समितिलाई भनेको छ । बाँकेबाट सर्वतआरा खानम संघीय संसदमा छिन् ।
पटक-पटक पछाडी सर्दै आएको निर्वाचन यही फागुन १५ गते हुने तय भएको थियो । निर्वाचन कार्यक्रम अनुसार फागुन १२ गते बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम थियो । अब १५ गते निर्वाचन नहुने पक्का भएको छ । बाँके जिल्लाको निर्वाचन समितिले बुधाबार जारी गरेको निर्वाचन तालिकालाई केही समय पर स्थगित गरेको छ । बिहीबार बिहान बैठक बसेर थप निणर्य लिइने निर्वाचन समितिले जनाएको छ ।
जिल्लामा अब कुन दिन निर्वाचन गर्ने भन्नबारे बिहीबार नै छलफल गरिने बाँके जिल्ला सभापति किरण कोइरालाले बताइन् ।
संसदमा टेबुल भएको एमसिसीलाई पारित गर्नका लागि कांग्रेसले आफ्ना साँसदलाई ह्वीप जारी गरिसकेको छ । पछिल्लो पटक बाकेसहित १६ जिल्लामा कांग्रेसको निर्वाचन हुने तयारी थियो ।