कांग्रेस बाँकेको निर्वाचन १९ गते हुने
Thursday, February 24th, 2022, 7:41 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तर्गत स्थगित भएको निर्वाचन यही फागुन १९ गते हुने भएको छ । जिल्ला समन्वय समिति बाँकेमा फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुने भएको हो ।
जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बिहीबार अपरान्ह बसेको बैठकले प्राविधिक रुपले पछाडी सरेको निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने निणर्य गरेको हो । जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यका अनुसार शुक्रबार बिहान ११ बजेदेखी दिउँसो २ः३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, दिउँसो ३ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो ३ः४५ देखी ४ः४५ बजेसम्म उम्मेदवारीमाथि संशोधन दावी विरोध, बेलुका ५ बजे दावी विरोधपछिको उम्मेदवारको संशोधित नामावली प्रकाशन गरिनेछ ।
यस्तै फागुन १४ गते बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकृत आचार्यले बताए । यसअघि केन्द्रीय निर्वाचन समितिको परिपत्र अनुसार बिहीबार तोकिएको उम्मेदवारी मनोनयन दर्ता र १५ गतेको निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो ।
कांग्रेस बाँकेको बिहीबार सम्पन्न जिल्ला कार्यसमिति बैठकले पनि स्थगित भएको निर्वाचनलाई अगाडी बढाउन निर्वाचन समिति समक्ष आग्रह गरेको थियो ।
केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचनलाई आगामी फागुन २० गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मुलुकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रम, संसदमा निणर्यार्थ प्रस्तुत र विचाराधिन एमसीसीका कारण प्रतिनिधिसभाका सदस्यहरुलाई राजधानी बाहिर नजानका लागि पार्टी संसदीय दलले ह्वीप जारी गरेका कारण निर्वाचन स्थगित गर्नु परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उल्लेखित १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनका लागि निर्धारित फागुन १५ गतेको मितिलाई पछाडी सारेर फागुन २० गतेभित्र चुनाव सम्पन्न गर्ने व्यवस्था मिलाउन केन्द्रीय समितिले बुधबार साँझ निर्देशन दिएको थियो ।