काँग्रेस बाँकेमा सभापतिको लागि चारजनाको उम्मेदवारी
Friday, February 25th, 2022, 2:17 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । जिल्ला समन्वय समिति बाँकेमा बिहान ११ बजेबाट सुरु भएको मनोनयन दर्ताको समय सकिन आधा घण्टा बाँकी रहँदा चार जनाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा अगाडी नारायणप्रसाद गौडेलले उम्मेदवारी दर्ता गराएका थिए भने सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले पनि सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहेका छन् भने हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठ रहेका छन् ।
यसैगरी सभापतिका अर्का उम्मेदवार कुर्मीको प्रस्तावकमा मो. नक्की खाँ र ज्ञानबहादुर ओली समर्थक रहेका छन् । उनको प्रस्तावकमा नवीन कुमार भट्ट र समर्थकमा युवराज शाह रहेका छन् ।उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र हमाल र सन्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सह-सचिवमा रेणुसिंह ठाकुर, विश्वराज लम्साल, पूणर्कुमार सिंह ठकुरी (पुरन) र विनोद थारुले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ताको समया २ः३० बजेसम्म तोकिएको छ । जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यका अनुसार शुक्रबार दिउँसो ३ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ३ः४५ देखी ४ः४५ बजेसम्म उम्मेदवारीमाथी संशोधन दावी विरोध, बेलुका ५ बजे दावी विरोधपछिको उम्मेदवारको संशोधित नामावली प्रकाशन गरिने छ ।
शनिबार बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने समय तोकिएको छ । यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओलीले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।