जानकी गाउँपालिका वडा नम्बर ६ को कार्यालय निर्माण सुरु
Friday, February 25th, 2022, 3:26 pm
Kalpristha
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ को कार्यालय भवन निर्माण हुने भएको छ । वडाको कैरातीपुरमा निर्माण हुने भवनको शुक्रबार एक कार्यक्रमबीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धिताल र स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल वर्माले संयुक्त रुपमा शिलान्यास गरेका छन्।
स्थानीय समाजसेवी तथा साबिकको गनापुर गाविसका पूर्व अध्यक्ष रामगोपाल वर्माले निशुल्क दान गरेको २ कठ्ठा जग्गामा भवन निर्माण हुने वडा अध्यक्ष सुरेश यादवले जानकारी दिए । भवन निर्माणका लागि सोनाम कन्ट्रक्सन सिमिकोट हुम्लालाई ठेक्कामार्फत जिम्मा दिइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाका अनुसार भवनका लागि ३६ लाख लाख रुपैयाँ बजेट छुट्याइएको छ । तीन कोठा र एक हलसहितको सो भवन निर्माणका लागि कम्पनीसँग एक बर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको छ ।
शिलान्यास कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य पदम धिताल, बाँके उपाध्यक्ष डिल्ली बिसी, जनप्रतिनिधि, वडाका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि एवं स्थानीयवासीको उपस्थिति रहेको थियो ।