यस्ता छन् कांग्रेस बाँकेको सभापतिका उम्मेदवारहरु
Saturday, February 26th, 2022, 5:30 am
Kalpristha
नेपाली कांग्रेस बाँकेको आगामी नेतृत्वका लागि सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । शुक्रबार उम्मेदवारी मनोनयन दर्तामा संस्थापन (शेरबहादुर देउवा) पक्षबाट तीनजना र संस्थापन इतर (शेखर कोइराला) पक्षबाट एकजनाले उम्मेदवारी दिएका छन् ।
संस्थापन इतर पक्षबाट नारायणप्रसाद गौडेलले उम्मेदवारी दर्ता गराएका छन् भने संस्थापन पक्षबाट सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहेका छन् भने हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठ रहेका छन् ।
यसैगरी सभापतिका अर्का उम्मेदवार कुर्मीको प्रस्तावकमा मो. नक्की खाँ र ज्ञानबहादुर ओली समर्थक रहेका छन् । राणाको प्रस्तावकमा नवीन कुमार भट्ट र समर्थकमा युवराज शाह रहेका छन् ।
संस्थापन इतर पक्षबाट उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य एवं संस्थापन इतर पक्षबाट सुदीपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सचिवमा संस्थापन इतरबाट सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष) एवं संस्थापन पक्षबट रविन्द्र हमाल र सन्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सह-सचिवमा संस्थापन इतरबाट रेणुसिंह ठाकुर, विश्वराज लम्साल एवं संसथापन पक्षबाट पूणर्कुमार सिंह ठकुरी (पुरन) र विनोद थारुले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यका अनुसार शनिबार बेलुका ५ बजे दावी विरोधपछिको उम्मेदवारको संशोधित नामावली प्रकाशन गरिने छ । शनिबार बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने समय तोकिएको छ । यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओलीले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।
सभापतिमा धेरै उम्मेदवार भए पहिलो चरणमा परिणाम निस्कने सम्भावना निकै न्यून हुनेछ । किनकी सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । ५० प्रतिशत बढी मत नआए धेरै मत ल्याउने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
पहिलो चरणमा एकल उम्मेदवारी रहेको संस्थापन इतर प्यानललाई बढी मत ल्याउन सहज छ । तर दोस्रो चरणमा भने कडा प्रतिस्पर्धा हुनसक्ने आँकलन गरिएको छ ।
सुरेन्द्र हमाल
खेल, समाजसेवा र राजनीतिमा सक्रिय हमाल पछिल्लो समय पूणर्कालीन राजनीतिमा छन् । नेपालगन्ज नगरपालिकाका पहिलो उप-मेयर समेत रहेका हमाल हाल लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री रहेका छन् ।
२०३१ सालदेखि राजनीतिमा सक्रिय हमालले खेलकुद र राजनीतिलाई उत्तिकै इमान्दारिताका साथ सम्हाले । पारिवारिक पृष्ठभूमिले नेपाली कांग्रेसतर्फ आकर्षित भएका हमालले विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रियता देखाए । उनी नेपाल बिद्यार्थी संघको तर्फबाट स्थानीय महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको सचिव हुदै सभापति भएर काम गरे । २०४४ सालमा पार्टीले टिकट दिएपछि स्थानीय चुनाव लडे ।
पार्टीले २०४९ सालमा तत्कालिन नेपालगन्ज नगरपालिकाको उपमेयरको टिकट दियो । हमालले नगरपालिकाको उपमेयर जिते र पाँच वर्षसम्म विकास निर्माणको काममा समय बिताए । त्यसपछि पार्टीभित्रको राजनीतिमा निरन्तर सक्रिय हमाल २०७४ सालमा बाँके क्षेत्र नम्बर २ ख बाट लुम्बिनी प्रदेश सभाको उम्मेदवार बने र विजयी पनि भए ।
हमाल नेपाली कांग्रेसको आन्तरिक एकता र लोकप्रियतालाई मजबुत बनाउन सभापतिमा उम्मेदवारी दिएको बताउँछन् । आगामी निर्वाचनमा पार्टीलाई तीनवटै तहको निर्वाचनमा विजयी गराउने आफ्नो लक्ष्य रहेको हमाल बताउँछन् ।
नारायण गौडेल
एक कुशल संगठकको परिचय बनाएका नारायणप्रसाद गौडेल कांग्रेसको राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । कोहलपुर निवासी गौडेलले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह-सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका छन् ।
२०६१ सालमा क्षेत्रीय सभापति बनेका गौडेल २०५९ मा बाँके कांग्रेसको सहसचिव बनेका थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा उनी केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए ।
जनआन्दोलन २०६२/६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिबेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।
हाल महासमिति सदस्यका रुपमा क्रियाशील गौडेल १३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । यसपटक सभापति बनेर बाँके कांग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए ।
नेपाली कांग्रेस बाँकेको शिक्षा विभाग प्रमुख बनेर काम गरेका गौडेल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको सभापति र बाँके शाखा सदस्य पनि भए । निरन्तरको क्रियाशीलता र पार्टीका नेता कार्यकर्तासंगको निकटता तथा सुमधुर सम्बन्ध आफ्नो चुनाव जित्ने आधार भएको गौडेल बताउँछन् ।
कांग्रेस बाँकेलाई पुरानै शाखमा फर्काउन सुदृढ, गतिशील र सक्षम कांग्रेस बनाउने आफ्नो अठोट रहेको गौडेल बताउँछन् । सबै तहका निर्वाचनमा पार्टीलाई जिताउँदै जिल्लामा पार्टीलाई एक नम्बर बनाउने आफ्नो संकल्प रहेको गौडेलको भनाई छ ।
बादशाह कुर्मी
२०४२ सालदेखि राजनीतिमा संलग्न बादशाह कुर्मी ३८ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । पार्टीमा लामो समयदेखी राजनीति गर्दै आएका कुर्मी २०६४ र २०७० सालमा तत्कालिन संविधान सभामा समानुपातिक सभासद भएका थिए । २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उनी तत्कालिन बाम गठबन्धनका नन्दलाल रोकायसँग थोरै मतले पराजित भएका थिए ।
पिछडिएका, मधेसी र अदिवासीलाई राज्यको मूलप्रवाहमा ल्याउन नसकेसम्म मुलुकले प्रगति गर्न सक्दैन भन्ने धारणा राख्ने कुर्मी राजनीतिका अतिरिक्त समाजसेवामा समेत रुचि राख्छन् । बाँके, परसपुर निवासी कुर्मी राजनीतिक संघर्षका क्रममा एक महीना जेल परेका थिए । २०६२ सालको जनआन्दोलनका क्रममा उनको हात भाँच्चिएको थियो ।
कुर्मी राजनीतिका अलावा उद्योग-व्यापारमा संलग्न रहँदै आएका छन् । आइए सम्मको अध्ययन गरेका कुर्मी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य हुन् ।
पार्टीभित्र एकता कायम गर्न र गुटउपगुटको अन्त्य गर्नका लागि यसपटक जिल्ला सभापतिको उम्मेदवार बनेको कर्मुी बताउँछन् । उनले बाँके क्षेत्र नम्बर ३ मा वडादेखि क्षेत्रसम्मको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न भूमिका खेलेको बताउँदैै आफू सभापति भएमा जिल्लाभरी नै त्यसखालको वातावरण सृजना गर्ने दावी गरे । उनले कांग्रेसको संगठन सुदृढीकरण गर्दै आगामी जनप्रतिनिधिको निर्वाचनमा पार्टीलाई जिताउने भूमिकाका लागि आफू जिल्ला नेतृत्वमा आउन चाहेको बताए ।
सुनिल नरसिंह राणा
हाल कांग्रेसको उपसभापति रहेका सुनिल नरसिंह राणा करिब १७ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय भएका थिए । सानैदेखि कांग्रेसको विचारधाराबाट प्रभावित राणाले विद्यार्थी जीवनबाटै एक असल राजनीतिकर्मीको परिचय बनाए ।
नेपालगन्ज निवासी राणा २०३६ सालको आन्दोलनमा विद्यार्थी तप्काको नेतृत्व गर्ने काममा अगुवाई गरे । आन्दोलनका क्रममा राणाले पटक-पटक प्रहरीको लाठी र दमनको सिकार हुनुपर्यो ।
मानविकी संकायबाट आइएसम्मको अध्ययन पूरा गरेका राणाले पार्टीको प्रचार विभागका साथै विभिन्न तहमा रहेर काम गरेका छन् । निरन्तर पार्टीको राजनीतिमा सक्रिय रहँदा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुनिँदै आए । उनले पार्टीको संगठन बिस्तारमा दिएको योगदानले एक कुशल संगठककारुपमा परिचय बनाउन सफल भएका छन् ।
राणा जिल्लाको उपसभापतिमा निर्वाचित भएको अहिलेको कार्यकाल अहिलेको पाँचौ कार्यकाल हो । अहिलेसम्म आफूले पार्टीको सभापति पदमा दावी नगरेको र सभापतिमा आफ्नो यो दावी पहिलो र अन्तिमपटक भएको उनले कालपृष्ठलाई बताएका छन् । ॅमैले यसपटक दिएको सभापतिको उम्मेदवारी पहिलो र अन्तिम पटक हो । यसपछि म सभापतिमा दावी गर्दिन ।
यसपटक पार्टीमा दिएको योगदानको कदर गर्दै मतदाता साथीहरुले मलाई जिम्मेवारी दिनुहुनेछ भन्ने मेरो विश्वास छ । यदि भएन भने पनि म पार्टीको संगठन बलियो बनाउन खटिइरहनेछु,’ उनले भने ।
उनले आफ्नो उम्मेदवारी आगामी निर्वाचनमा पार्टीलाई तीनवटै तहको निर्वाचन जिताउन र कांग्रेसको संगठन बलियो बनाउन रहेको बताएका छन् ।