साविक विजेता धम्बोझी बराबरीमा रोकियो, पहिलो दिन ओशोनिक विजयी
Saturday, February 26th, 2022, 6:54 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, १४ फागुन
साविक विजेता धम्बोझी क्लब बाँके जिल्ला लिग फुटबलको पहिलो खेलमा बराबरीमा रोकिएको छ । धम्बोझी बराबरीमा रोकिएको दिन शनिबारदेखी ओशोनिक क्लबले जित हासिल ग¥यो । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३–० ले हरायो । नेपालगन्ज रंगशालमा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १–१ गोल गरे ।
क्षितिजले २५औं मिनेट, गोविन्दले ४५ र गणेशले ५०औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा धम्बोझी र कारकादो बिचको खेल १–१ को बराबरीमा सकिएको छ । धम्बोझीका लागि बुद्ध देव शाहीले नौं मिनेटमा गोल गरेका थिए । पछि कारकादोका सृजन बकीले ५१औं मिनेटमा गोल गदैं खेल बराबरीमा लगेका थिए ।
आयोजक बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको शनिबार एक समारोहमा बिच बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले गरेका थिए । उद्घाटन कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश शाह, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासनिक अधिकृत राम कुमार सोनकर लगायतको उपस्थिती रहेको थियो ।
फागुनको ३० गते सम्म चल्ने लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गर्नेछन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।
लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।