गौरवका आयोजना कार्यान्वयनमा कोहलपुर कमजोर
Sunday, February 27th, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
कोहलपुर नगरपालिकाको २०७४-७५ को प्रथम नीति तथा कार्यक्रममा भनिएको थियो, ॅनगरस्तरीय गौरवका कार्यक्रमहरु सन्चालन गरी सबै वडाहरुलाई समान स्तरमा पुर्याउँदै सबै नगरवासीहरुलाई समृद्ध नगरका गौरवशाली नागरिकको अनुभूति दिलाइनेछ ।’ यसका साथै उक्त नीति तथा कार्यक्रमले भनेको थियो नगरलाई सफा, सुन्दर, सुरक्षित, समृद्ध, सबल र सक्षम नमुना नगरका रुपमा विकास गरिनेछ ।
अति उत्साहित भएर भएरका सबै शब्दहरुले सजाएर तयार गरिएजस्तो लाग्ने उक्त नीति तथा कार्यक्रमको यो सपना पूरा गर्न अवश्य लामो समय लाग्ला । तर के विगत चार वर्षमा कोहलपुर नगरपालिकाले आफैले तयार गरेको नीति तथा कार्यक्रममा उल्लेख गरेका योजनाहरु पूरा गर्यो त ? यो प्रश्नको उत्तर खोज्न नगरपालिकाका भौतिक योजना र गौरवका योजना भनेर घोषणा गरिएका योजनाको अवस्थाले देखाउँछ । नगरपालिकाले घोषणा गरेका अधिकांश गौरवका योजनाहरु अलपत्र छन् ।
सडकमा उल्लेखनीय सुधार
एक अर्ब ११ करोड २२ लाख भन्दा बढी रकम पूर्वाधार विकासमा खर्चिएको छ । चालू आर्थिक वर्षमा पूर्वाधार विकासकै लागि ५८ करो ७७ लाख ६२ हजारभन्दा बढीको बजेट छुट्याइएको छ । पूर्वाधार विकासको अधिकांश हिस्सा सडक पूर्वाधारमै खर्चिएको छ । सुरुका वर्षमा मागका आधारमा मात्रै सडक निर्माणमा लागेको नगरपालिकाले २०७७-७८ मा आएर मात्रै नगर सडक गुरुयोजना निर्माण गर्यो ।
त्यही भएर पनि होला अझै सबै क्षेत्रका सडकहरुको समानुपातिक विकास नभएका स्थानीयहरुको गुनासो छ । मेयर लुटबहादुर रावत भन्छन्, ‘स्थानीय तहका जनप्रतिनिधि भनेको त हरेक ठाउँबाट गुनासो र आलोचना खाने पद रहेछ । एक ठाउँमा सडक बन्यो अर्कोमा अर्को वर्ष बनाउँला भनेर छुट्यो भनेपनि गुनासो आइहाल्छ ।’
यद्धपि विगत चार वर्षमा नगरपालिकाले आफ्नै बजेटबाट करिब २० किलोमिटरभन्दा बढी बाटो पक्की बनाएको मेयर रावतले दाबी गरे । त्यतिकै मात्रामा ग्राभेल र माटो पटान गरी सडक स्तरोन्नति गरिएको पनि मेयर रावतको भनाइ छ । कोहलपुर बजार क्षेत्रका सबैजसो सडक अहिले पक्की भइसकेका छन् । स्थानीयहरु पनि अरु पूर्वाधारका तुलनामा सडक पूर्वाधारमा उल्लेखनीय सुधार आएको बताउँछन् ।
नगरपालिकाले रिङरोडको लागि डिपिआर तयार गरिसकेको रावत बताउँछन् । उक्त रिङरोड क्षेत्रको केही हिस्सा सडकले जोडिसकेको उनको भनाइ छ । ‘यो कार्यकालमा खाका कोरिदिएका छौँ । अब आउने कार्यकालमा अघि बढेर पूरा होला ।’
भ्यू टावरको अर्थहिन गर्व
भ्यू टावरको सस्तो गर्वबाट प्रेरित भएर कोहलपुर गपरपालिकाले करिब ९ करोड खर्चेको छ । पहिलो कार्यकालमै क्रमागत गर्वको योजनामा सवावेश गरिएको उक्त टावरको निर्माण कार्य अझै पूणर् भइसकेको छैन । कोहलपुरका मेयर लुटबहादुर रावतले कालपृष्ठसँग कुरा गर्दै ‘घण्टाघरसहितको भ्यु टावर आफ्नो कार्यकालको ऐतिहासिक निसानी हुने’ दाबी गरे ।
उनको दाबीको जनताको दृष्टिकोणबाट भने त्यति तारिफ भएको देखिएन । टावर पर्यटनका दृष्टिकोणले पनि संभावनायुक्त नभएको कोहलपुरवासीहरु बताउँछन् ।
उक्त योजना आफ्नो कार्यकालभित्रै पूरा हुने विश्वासमा मेयर रावत छन् । आफ्नो कार्यकालमा भएको एक कामका रुपमा उक्त घण्टाघरलाई प्रस्तुत गर्ने योजना उनको मनसाय छ ।
औद्योगिक क्षेत्रमा पूणर्तया असफल
पहिलो कार्यकालमै तय गरिएको नीति तथा कार्यक्रममा कोहलपुर ८, ७ र १४ मा रहेका सामुदायिक वन क्षेत्रलाई कोहलपुरको औद्योगिक क्षेत्रकोरुपमा विकास गरिने उल्लेख थियो । यो नीति निर्माण गर्दा नै राम्ररी नसोची तय गरिएको देखिन्छ ।
किनभने सामुदायिक वन क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम धेरै दृष्टिकोणबाट अस्वीकार्य हुने संभावना थियो । आखिरमा सामुदायिक वनका उपभोक्ताले त्यसलाई स्वीकार गरेनन् । मेयर रावत भन्छन्, ‘हामीलाई स्थानीयले साथ दिएनन् र असफल भयौँ ।’
सिटी हल, विद्युतीय शवदाह स्थल,बधशालामा शुन्य काम
नगरपालिकामा हुनुपर्ने महत्वपूणर् संरचनामा पर्छन्, सिटी हल, विद्युतीय शवदाह स्थल, बधशाला । यी योजनालाई नगरपालिकाले गौरवका योजना भनेर नीति तथा कार्यक्रममा भनेको थियो । तर काम भने शुन्य छ । चार वर्षमा यी योजनाहरु शब्दमा मात्रै सीमित बनेका छन् ।
सिटी हलमा कुनै बजेट नै व्यवस्थापन गरिुउन भने बधशाला निर्माणको ९० लाख, शवदाहस्थलको १० लाख रुपैयाँखर्च नै गरिएन । स्थान अभावका कारण यी योजना पूरा नभएका कर्मचारी र जनप्रतिनिधिहरु बताउँछन् ।
बसपार्क निर्माण हुँदै, पार्किङ स्थल र अटो भिलेज खै ?
२०७४ मा बनाइएको बसपार्क निर्माणको योजना २०७७ सालबाट मात्रै सुरु भयो । बसपार्क निर्माणका लागि नगर विकास कोष र कोहलपुर नगरपालिकाबीच सम्झौता भई काम भइरहेको छ । कोहलपुर चौराहदेखी पुर्वतर्फ रहेको नगरविकास समितिको खाली जग्गामा ४६ करोड ३५ लाख ३० हजार लागतमा अत्याधुनिक बसपार्क निर्माण गरिने लक्ष्य छ ।
नयाँ बन्ने बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर र सपिङ कम्प्लेक्स सुविधा सहितको हुने नगरपालिकाले जनाएको छ ।
बसपार्क निर्माणकालागि अनुमानित लागतमध्ये ६० प्रतिशत ऋण उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार २ वर्षभित्र बसपार्क निर्माण गरीसक्नुपर्ने छ । हालसम्म बसपार्कको ५० प्रतिशत काम पूरा भएको नगरपालिकाले दाबी गरेको छ ।
बसपार्क निर्माण चलिरहेपनि गौरवका आयाजनामै समावेश पार्किङ स्थल र अटो भिलेज निर्माणको काम भने भएको छैन ।
चौराहमा पार्क र कोल स्थापना, बाघको सालिक भयो ट्रोल
कोहलपुर नगरपालिकाले सबैभन्दा पहिले निर्माण सम्पन्न गरेको नगरको गौरवका योजनामा समावेश पहिलो योजना हो, कोहलपुर चोकको सौन्दर्यकरण । सिद्धार्थ बिजनेश ग्रुपसँगको सहकार्यमा तयार गरेको पार्कमा सिद्धार्थले ५० लाख रुपैयाँ खर्च गरेको छ ।
१७ हजार पाँच सय वर्गफिटको उक्त पार्कमा कोलको आकृति र बाघको सालिकसहितको स्तम्भ राखिएको छ । पित्तलबाट बनाइएको बाघको सालिक भने ट्रोल बनेको थियो । विशेषगरी सालिकको आकार सानो भएको भन्दै आलोचना भएको थियो ।
बनेन ल्याण्डफिल साइट
कोहलपुर नगरपालिकाले आफ्नो अर्को गौरवको आयोजना ल्याण्डफिल साईट पनि बनाउन सकेन । डिपिआर मात्रै तयार भएको छ ।
नगरपालिकाले सुरुमा सरस्वती सामुदायिक वनमा मासिक २० हजार रुपैयाँ तिरेर फोहोर फाल्ने गरियो । त्यसपछि जटायु नामक संस्थासँग सहकार्य गरेर फोहोरमैला व्यवस्थापन गरिरहेको छ । तर, जटायुसँगको सम्झौता कार्यान्वयन नहुँदा केही दिनअघि जटायुले फोहोर उठउनै बन्द गरेको थियो । हाल पुनः समझदारी कायम गरेर फोहोर उठाउने काम सुरु गरिएको छ ।
फोहोर संकलन गरेर त्यसलाई पुनः उपयोगी वस्तुमा बदल्ने योजनासहित नगरपालिकाले करिब दुई करोड खर्चिसकेको जनाएको छ । मेसिन, टहरा र फोहोर व्यवस्थापनस्थलसम्म जानका लागि बाटो निर्माण नगरपालिकाले गरेको मेयर रावतले बताए । करिब १५ वर्षको सम्झौता गरिएको छ । उक्त योजनाको मुख्य ध्येय फोहोरलाई जम्मा गर्नेभन्दा फाहोर अरु कुनै उपयोगी वस्तुमा रुपान्तरण गर्ने रहेको छ । जुन आफैमा चुनौतिपूणर् छ ।
त्यसरी फोहोर उपयोगी वस्तुमा रुपान्तरण भएको उदाहरण नेपालगन्ज उप-महनगरपालिकाको ल्याण्डफिल साइटमा पनि छैन । अहिले जटायुलाई जम्मा भएको फोहोर कहाँ फाल्ने भन्ने संकट उत्पन्न भइसकेको छ । पहिले फोहोर फाल्ने ठाउँ दिएका सामुदायिक वनहरुले अहिले उक्त सुविधा दिन छाडिसकेका छन् ।
ल्याण्डफिलसाइट नबन्नुको मुख्य कारण स्थानको अभाव नै भएको मेयर रावतको भनाइ छ । यद्धपि कारण दिशाजन्य लेदो व्यवस्थापनका लागि भने वडा नम्बर १३ मा छिट्टै काम सुरु हुने मेयर रावतले बताएका छन् ।