कांग्रेस बाँकेको निर्वाचन : राणाले फिर्ता लिए सभापति पदको उम्मेदवारी
Saturday, February 26th, 2022, 8:51 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत सभापति पदमा उम्मेदवारी दर्ता गराएका नेता सुनिलनरसिंह राणाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । वर्तमान जिल्ला उपसभापति रहेका राणाले शुक्रबार उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिन दिइएको आइतबारको समयभित्र जिल्ला समन्वय समितिमा पुगेर उनले सभापतिको उम्मेदवारी मनोनयन फिर्ता लिएका हुन् ।
राणाको प्रस्तावकमा नवीन कुमार भट्ट र समर्थकमा युवराज शाह रहेका थिए । राणाले सभापतिसहित महासमिति सदस्यमा पनि उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमै बादशाह कुर्मी, सुरेन्द्रबहादुर हमाल र नारायणप्रसाद गौडेलले पनि दर्ता गराएका छन् । अब संस्थापनबाट कुर्मी र हमाल दुईजना मात्रै उम्मेदवार चुनावी मैदानमा जाने भएका छन् ।
संस्थापन इतर पक्षबाट भने गौडेल मात्रै सभापतिका एकल उम्मेदवार छन् । यस्तै उप-सभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदीपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिवमा सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र हमाल र सन्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सह-सचिवमा रेणुसिंह ठाकुर, विश्वराज लम्साल, पुणर्कुमार सिंह ठकुरी (पुरन) र बिनोद थारुले उम्मेदवारी दर्ता गराए । आज बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । आजै बेलुका ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अन्तरगत मतदान भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओलीले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।