जिल्ला लिगमा युनाइटेडको सानदार सुरुआत
Sunday, February 27th, 2022, 8:15 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, १५ फागुन
युनाइटेड युथ क्लबले बाँके जिल्ला लिग फुटबलमा आइतबार सानदार सुरुआत गरेको छ । नेपालगन्ज रंगशालामा भएको खेलमा युनाइटेडले नवदुर्गा युवा क्लबलाई ४–० ले हरायो । जितसँगै युनाइटेडले ३ अंक जोडेको छ ।
नेपालगन्ज रंगशालामा भएको खेलमा युनाइटेडका लागि विभुषण केसीले २ गोल, संजय सुनार र प्रकाश बमले समान १–१ गोल गरे ।
विभुषणले ३५औं र ४५औं मिनेटमा गोल गरेका थिए । संजयले ३२औं र प्रकाशले ६८औं मिनेटमा गोल गरे ।
यसैगरी आइतबारको अर्को खेलमा बुद्ध युवा क्लब र मोडेल टिमबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टिमले १–१ अंक बाडेका छन ।
बुद्धको तर्फबाट रितेश सिंह ठकुरीले गोल गरेका थिए भने मोडेलका अनिस कुमार सुनारले एक आत्मघाती गोल गरे ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन ।
यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।
लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।