मिटरबक्स नआउँदा एक वर्षदेखि विद्युत् कुर्दै मालेवासी
Monday, February 28th, 2022, 6:15 am
Kalpristha
लिलाधर वली
दाङ, १५ फागुन
घोराही उपमहानगरपालिका–१ सल्लीकोट माले निवासी चुमा सार्कीको घर आँगन छेउमै विद्युत्को पोल गाडिएको छ । त्यही पोलबाट तानिएको तारबाट गाउँमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा छ । गाउँमा विद्युत् पुगेपछि उनले घरमा वाइरिङ गरेर घरमा विद्युत् जोड्नका लागि निवेदन दिएको पनि ८ महिना पुग्यो । तर अहिलेसम्म घरमा बत्ती बाल्न पाएकी छैनन् ।
‘गाउँमा विद्युत् छैन भनम भने घरछेउमै विद्युत्को पोल छ । त्यही पोलबाट विद्युत्को तार लगेर गाउँमा टेलिकम सञ्चालनमा छ’,उनले भनिन्,‘तर हाम्राका लागि विद्युत् माग्दा कार्यालयले मिटर छैन भन्छ,’ उनले भनिन् ।
उनी जस्तै मालेकै मालती पुनमगरले पनि गाउँमा विद्युत् पुगेपछि घर वाइरिङ गरेको एक बर्ष भयो । गाउँमा विद्युत् पोल गाडेर तार तानेपछि विजुली बत्ती बाल्ने आशमा घरमा वाइरिङ गरेर मिटर बक्सका लागि २५ सय रुपैयाँ दिएपनि अझै घरमा बत्ती बाल्न नपाएको उनले बताइन् । बत्ती नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यतासँगै मोबाइल चार्ज गर्नका लागि पहाडमा उकाली र ओराली गरेर एक घण्टा टाढाको गाउँ सिमलतारा जानुपर्र्ने बाध्यता रहेको बताइन् । उनले विद्युत् नहुँदा मोबाइल चार्जसँगै अँध्यारामा काम गनुपर्ने र बालबालिकाहरुलाई पढ्न समेत समस्या भएको बताइन ।
उनीहरु जस्तै नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रमा विद्युत् लाइन जडानका लागि करिव १९ सय बढीको आवेदन दिएका छन् । लामो समयदेखि मिटर बक्स नआउँदा आर्थिक वर्ष २०७८÷०७९ को हालसम्म एक हजार नौ सय ४५ जनाको विद्युत्को लागि आवेदन दिएपनि मिटर दिन नसकेको विद्युत् प्राकिरण घोराही वितरण केन्द्रले जनाएको छ । विद्युत् विस्तारसँगै सहरी क्षेत्रमा जनसंख्या बढ्दै गएपछि घोराहीमा विद्युत् जडान गर्नेका लागि निवेदन दिने ग्राहकहरुको संख्या समेत बढ्दै गएको छ ।
विद्युत् जडानका लागि आवेदन दिएका मध्ये हालसम्म ६ सय ३० जनाको घरमा विद्युत् जडान गरिएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्र नयाँ ग्राहक सेवा फाँटका जंगबहादुर घर्तीले जानकारी दिएका छन् । उनका अनुसार विद्युत् जडानका लागि आवेदन दिएपनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको बताए । विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियामार्फत भारतबाट मिटर बक्स खरिद गर्ने गरेको छ तर यस पटक मिटर बक्स खरिद गर्न ढिलाई मिटर बक्स पु¥याउन समस्या भएको उनले बताए ।
उनले काठमाडौमा स्मार्ट विद्युत् मिटर बक्स जडान गर्दा त्यहाँबाट दाङ पठाएका ६ सय बढी मिटर बक्सहरु भने ग्राहकको इच्छाहरु अनुसार यो अवधिमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । मिटर बक्स नभएपछि धेरै ग्राहकहरुले घरमा वाइरिङ गरेपनि लामो समयसम्म मिटर बक्स पाउन नसकेको गुनासो गर्दै आएका छन् ।
महशुल नतिर्ने डेढ सय बढीको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले समयमै विद्युत् महशुल नतिर्ने डेढ सय बढी ग्राहकको लाइन काटेको छ । आर्थिक बर्ष २०७८÷०७९ को दश महिनाको अवधिमा एक सय ७३ ग्राहकको लाइन काटेको हो ।
नियमित रुपमा तीन महिनासम्म विद्युत् महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने नेपाल विद्युत् प्राधिकरणको नियम भएपनि जिल्लामा छ महिनासम्म विद्युत् नतिर्ने ग्राहक तथा उद्योगहरुको लाइन काटेको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका लेखा प्रमुख डिल्लीराज आचार्यले जानकारी दिएको छ । उनका अनुसार घरवत्ती बाल्ने एक सय २८ घर, ३२ उद्योग र १३ जना व्यवसायीहरुको लाइन काटिएको हो ।
नियमित विद्युत् महशुल तिर्न बाँकी एक सय ७३ ग्राहक तथा उद्योगबाट १ करोड १७ लाख ७१ हजार ३ सय ९२ रुपैया १३ पैसा विद्युत् महशुल नतिरेपछि कार्यालयले विद्युत् काटेको नेपाल विद्युत् प्राधिकिरण घोराही वितरण केन्द्रका लेखा प्रमुख आचार्यले बताए ।
उनका अनुसार लाइन कारिएका एक सय ७३ जना ग्राहकहरु मध्य १ सय ३७ जनाले पुनः विद्युत् जडान गर्दा ९६ लाख ७९ हजार चार सय ६१ रुपैया ७८ पैसा विद्युत् महशुल बाफतको रकम संकलन भएको बताए । जसमा पुन विद्युत् जडान गर्नै घरवत्ती बाल्ने ९५ घरधनी, ३३ उद्योगी र ९ जना व्यापारी रहेको कार्यालयले जनाएको छ । लेखा प्रमुख आचार्यका अनुसार विद्युत् काटिएका मध्य ३६ जनाले अझैसम्म पुन जडान नगरेको बताए ।