सेनापति ट्रफिमा जिलेप्सिन जंगको ह्याट्रिक
Monday, February 28th, 2022, 5:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ फागुन
जिलेप्सिन जंग कार्कीले ह्याट्रिक गरेको दिन नन्दबक्स गण र रुद्रध्वज गणले कमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगितामा सोमबार सफलता हासिल गरेका छन् ।
सहजै जित हासिल गर्ने क्रममा राझा स्थित आर्मीको फुटबल मैदानमा सोमबार भएको पहिलो खेलमा नन्दबक्सले भवानी दल गणलाई ४–१ ले हरायो ।
नन्दबक्सका लागि सेनानी तिजेन्द्र वाखरीनले २२औं मिनेटमा गोल गर्दै खेलमा आफनो टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलमा हाबी भएको नन्दबक्सका लागि शिव बहादुर थापाले ५६औं मिनेट, मिन कुमार थापाले ८७औं र ९०औं मिनेटमा गोल गरेका थिए । भवानीका लागि समक्ष डगौराले ६२औं मिनेटमा सान्त्वना गोल गरे । यसैगरी अर्को खेलमा रुद्रध्वजले सहजै जित हासिल गर्ने क्रममा भवानी बक्स गणलाई ५–१ ले पराजित ग¥यो ।
रुद्रध्वजका जिलेप्सिन जंग कार्कीले ह्याट्रिक गरेको खेलमा गोबिन्द खड्का र बसन्त वलीले १–१ गोल गरे । जिलेप्सिनले ४९औं, ५७औं र ६१औं मिनेटमा गोल गरे ।
गोविन्दले ५१औं र बसन्तले ८३औं मिनेटमा गोल गरेका थिए । यता भवानीका लागि सोम बहादुर सारुले ८१औं मिनेटमा सान्त्वना गोल फर्काए ।
बुधबार देखी सुरु भएको प्रतियोगितामा पश्चिम कमाण्ड अन्तर्गत चार वटा बाहिनी अड्डाका आठ युनिटको टिमले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीले चैत १६ देखी जेठ २ गते सम्म चल्ने प्रधानसेनापति ट्रफीमा खेल्न पाउनेछन ।
प्रतियोगितामा भैरवप्रसाद गण राझा नेपालगन्ज, नयाँ सबुज गण सुर्खेत, चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट, भवानी दल गण तेघरी ब्यारेक कैलाली, भवानी बक्स गण अछाम, नन्दबक्स गण जुम्ला, रुद्रध्वज गण सिलगढी ब्यारेक डोटी र रण बमगण डडेल्धुराको सहभागिता रहेको छ ।