राप्ती सोनारीमा रनिङ शिल्डको तयारी तीव्र
Tuesday, March 1st, 2022, 9:42 am
Kalpristha
राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको सहयोग र लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी–२, मदुईको व्यवस्थापनमा १४औं राष्ट्रपति रनिंग शिल्ड तथा अध्यक्ष कप चौथौं खेलकूद प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म आयोजना गरिने छ ।
उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । फिल्ड व्यवस्थापन समिति, अतिथी संस्कार समिती, प्रचार प्रसार समिती, प्रतियोगिता निरीक्षण र अनुमगन समिति, खेलकुद समितिलगायत अन्य समिती गठन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्यले जानकारी दिए ।
प्रतियोगितामा एक सय मिटर, दुई सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर, तीन हजार मिटर दौड र विभिन्न रिले दौड संचालन हुने पालिकाकाले जनाएको छ ।
त्यसैगरी हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समावेश गरिएको प्रधानाध्यापक आचार्यले बताए । आधारभुत विद्यालयस्तरीय कुर्सी दौड र गणित दौड छात्रा÷छात्र भलिबल खेल सञ्चालन गरिने भएको छ ।
खेलकुदमा सहभागी प्राथमिक तहको विद्यालयलाई शुल्क वापत एक हजार पाँच सय, आधारभूत तहको विद्यालयलाई दुई हजार र मावि तहको विद्यालयलाई तीन हजार शुल्क लिने निर्णयसमेत भएको आयोजक विद्यालयका प्रधान्ध्यापक लक्ष्मण आचार्यले बताए ।
रनिङ शिल्ड प्रतियोगितामा राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत गरी करिव ७२ वटा विद्यालयले सहभागिता जनाउने भएका छन् ।