संस्थापनको आधिकारिक उम्मेदवार मै हुँः बादशाह कुर्मी
Tuesday, March 1st, 2022, 12:42 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, १७ फागुन
नेपाली कांग्रेस बाँकेको निर्वाचनमा संस्थापनको पक्षको आधिकारिक उम्मेदवार आफु भएको वादशाह कुर्मीले बताएका छन ।
मंगलबार आफु निकटका नेता कार्यकर्ताको भेला गर्दै उनले संस्थापन (शेरबहादुर देउवा) पक्षबाट आफुले बाँके कांग्रेसको सभापतिमा लड्ने बताए ।
फागुन १९ गते बाँके कांग्रेसको निर्वाचन हुँदैछ ।
कोइराल पक्षबाट नारायण प्रसाद गौडेलको नेतृत्वमा टिम बनेको छ । संस्थापन पक्षबाट भने को आधिकारिक उम्मेदवार हो भन्ने विषयमै विवाद कायमै छ । निर्वाचन नजिकै गर्दा संस्थापन भित्रको विवाद मिल्न सकेको छैन ।
लुम्बिनी प्रदेशका वन मन्त्री एवम ओलम्पियन सुरेन्द्र हमाललाई सोमबार संस्थापन पक्षले आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधान सभा सदस्य मैकुलाल वाल्मिकीलाई पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले फोन गर्दै हमाललाई आधिकारिक उम्मेदावरका रुपमा घोषणा गर्न निर्देशन दिएका थिए । तर त्यसअघि संस्थापनले बादशाहलाई संस्थापनको आधिकारिक उम्मेदवारको रुपमा अघि सारेको थियो ।
संविधान सभा सदस्य कुर्मीले पार्टीको आन्तरिक निर्वाचनमा केहि साथीहरुले भ्रमपुर्ण सुचना सम्प्रेसन गरेका कारण अन्योलको वातावरण सृजना भएको बताए । उनले भने,‘पार्टी सभापतिले मलाई आधिकारिक उम्मेदवारको रुपमा तयारी अगाडी बडाउन निर्देशन दिनु भएको थियो ।
म आफनो इच्छाले उम्मेदवारी दिएको होइन । पार्टी पंक्तिका शिर्ष नेताहरुको चाहना र भावनाका कारण उम्मेदवार बनेको हो । अहिले आएर अन्तिम समयमा मलाई विवादमा ल्याउने काम पार्टी भित्रकै केहि साथीले गर्नु भएको छ । नतिजा जे भएपनि म निर्वाचनमा जान्छु ।’
पहिलो चरणमा नतिजा नआएको खण्डमा दोस्रो चरणमा संस्थापन पक्षले एक–अर्कालाई सहयोग गरेर अगाडी बढने उनले घोषणा गरेका छन ।