नतिजाविना रुस र युक्रेनको वार्ता सकियो
Tuesday, March 1st, 2022, 5:49 pm
Kalpristha
रुस र युक्रेनबीच मंगलबार भएको पहिलो चरणको वार्ता नतिजाविना सकिएको छ । यद्यपी वार्ता हुनुपूर्व कुनै ठुलो नतिजा निकाल्ने अपेक्षा भने गरिएको थिएन ।
वार्ता पश्चात एक युक्रेनी अधिकारीले भने दुवै पक्ष आ–आफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएको बीबीसीले जनाएको छ ।
युक्रेन, बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता भएको हो ।
रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएको विभिन्न संचारमाध्यामले जनाएका छन् । आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको उनीहरुले जनाएका छन् ।
युक्रेनको राजधानीतर्फ रुसी बख्तरबंदको लाइन
युक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् । यसअघि दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हमलामा दजर्नौ सर्वसाधारण मारिएका विवरणहरु विभिन्न माध्याममा सार्वजनिक भएका थिए ।
स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजीले भर्खरै जारी गरेको तस्बिरले ४० माइल लामो रुसी काफि किभतर्फ देखाएको छ । म्याक्सर टेक्नोलोजीका नयाँ स्याटेलाइट तस्बिरहरूले किभको बाहिरी इलाकामा पुगेको रूसी सैन्य काफिले पहिले मापन गरिएको भन्दा पनि लामो भएको देखाउँछ ।
सिएनएनका अनुसार म्याक्सरले सोमबार ढिलो भने काफिले ४० माइलभन्दा लामो रहेको बताएको थियो । काफिलेले करिब १७ माइल सडकको यात्रा गरेको यसअघि म्याक्सरले जनाएको छ ।
राजधानीमा खतराको जनाउ दिने साइरन बजेका छन् भने सर्वसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ । अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले सम्भावित युद्ध अपराधबारे रुसमाथि आफूले छानविन गर्न चाहेको पनि बताएका छन् ।
युक्रेनमा ७५ प्रतिशत रुसी सेना
युक्रेनभित्र रुसको ७५ प्रतिशत सेना रहेको बताइएको छ । तर एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले भने रुसले युक्रेनमा ४० प्रतिशत सेना पु¥याएको बताएका छन् ।
रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटमा ल्यान्ड वारफेयर र सैन्य विज्ञानका अनुसन्धानकर्ता डा. ज्याक वाटलिङ बीबीसी रेडियोमा रुसी सेनाको ठूलो समूह बेलारुसबाट दक्षिणतर्फ अघि बढिरहेको र किभमा आक्रमण गर्न सक्षम हुने अवस्था तय गर्न थालेको बताएका हुन् ।
त्यस्तै युक्रेनले भने पाँच हजार हजार सात सय १० रुसी सेना मारिएको दाबी गरेको छ । युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन् ।
साथै एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले दुई सयभन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् ।
३५२ युक्रेनीको मृत्यु
रुसी हमलाबाट १४ बालबालिकासहित तीन सय ५२ युक्रेनी सर्वसाधारणको मृत्यु भएको युक्रेनले दावी गरेको छ । खार्कीमा मात्रै रुसी सेनाको गोलाबारीमा परेर कम्तीमा ११ सर्वसधारणको मृत्यु भएको छ ।
रुसी हमलापछि पाँच लाखभन्दा बढी मानिस युक्रेन छोडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।
एजेन्सी सहयोगमा