सर्वोत्कृष्ठ खेलाडीको अवार्ड विराज र अरुणालाई
Tuesday, March 1st, 2022, 6:13 pm
Kalpristha
यस वर्षको सर्वोत्कृष्ठ खेलाडीको अवार्ड फुटबल खेलाडी विराज महर्जन र भलिबलकी अरुणा शाहीले प्राप्त गरेका छन् । उनीहरुले अवार्डसहित समान एक लाख नगद प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६औं एनएनआईपीए स्पोर्टस अवार्ड २०७८ अन्तर्गत उनीहरुलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो ।
त्यस्तै ट्रायथ्लनका हिमाल टमाटाले पुरुषतर्फ तथा तेक्वान्दोकी पार्वती गुरुङले महिलातर्फको प्रतिभाशाली खेलाडी सम्मान प्राप्त गरेका छन् । उनीहरुले समान हिमाल र पार्वतीले जनही ५० हजार प्राप्त गरे ।
ब्याडमिन्टनका प्रिन्स दाहालले पुरुष र उसुकी निमा घर्तीमगरले महिलातर्फको उदयमान खेलाडी सम्मान प्राप्त गरे । प्रिन्स र निमाले पनि जनही ५० हजार प्राप्त गरे ।
एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझालाई गजराज आदंर्श खेल व्यक्तित्व सम्मान प्रदान गरेको छ । पुष्पराजलाई नगद ३५ हजार प्रदान गरेको छ ।
कान्तिपुर दैनिकका खेलकुद पत्रकार हिमेश रत्न बर्जाचार्यलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार सम्मानसहित नगद २५ हजार प्रदान गर्यो ।
एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन बनेका नेपाली महिला टोलीलाई विशेष सम्मान प्रदान गरेको छ ।
साथै एनएनआईपीएले ललितपुरको गोदावरी नगरपालिकामा आयोजित कार्यक्रममा उत्कृष्ट २७ खेलाडीलाई पनि सम्मानसहित नगद १० हजार प्रदान गरिएको छ ।
सम्मानित हुनेमा आर्चरीका ज्ञानु अवाले, एथलेटिक्सका किरण सिंह बोगटी, ब्याडमिन्टन प्रिन्स दाहाल, बास्केटबलकी सदिना श्रेष्ठ, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की र गल्फकी कस्मिरा शाह रहेका छन् ।
त्यसैगरी, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्यास्टिकका रोहन बुढाथोकी, करातेका विप्लव श्रेष्ठ, र्याफ्टीङ एन्ड क्यानोनिङका सुमन तामाङ, जुडोकी सुमित्रा राई, स्किका सफल राम श्रेष्ठ र पौडीका अनुभव सुब्बाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे ।
सुटिङकी कृष्णा थापा, कब्बडीका नागेश्वर थारु, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्रायथ्लनका हिमाल टमटा, लनटेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलीकी अरुणा शाही, वेटलिफ्टिङकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र रेस्लिङका सुरेश चुनारा उत्कृष्ट भए ।
पारा एथलेटिक्सकी पलेसा गोवद्र्धनले उत्कृष्ट पारा खेलाडी सम्मानसहित दश हजार प्राप्त गरिन् ।
साभार : खेलपाटी