वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा
Tuesday, March 1st, 2022, 6:58 pm
Kalpristha
सुर्खेतको वीरेन्द्रनगरमा सोमबारदेखि मंगलबारसम्म लागेको कफर््यु निषेधाज्ञामा परिणत भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना निकालेर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार कर्फ्यूलाई खुकुलो बनाएर निषेधाज्ञा जारी गरिएको हो । अवस्था सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
मंगलबारको दिनभरि वीरेन्द्रनगर बजारको अवस्था सामान्यनै रहेको प्रशासनले जनाएको छ । प्रशासनले कुनै अप्रिय घटना नभएकाले सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
हाल प्रशासनले वीरेन्द्रनगरको यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र पाँच जनाभन्दा बढी मान्छे जम्मा हुन र कुनै पनि विरोध प्रदर्शन गर्न रोक लगाएको छ । अर्को आदेश नहुञ्जेसम्म तीन क्षेत्रमा निषेधाज्ञा कायम रहनेछ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोध प्रदर्शन चर्किएको थियो ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।