युनाइटेडको दोस्रो जित
Tuesday, March 1st, 2022, 7:42 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, १७ फागुन
युनाइटेड युथ क्लबले बाँकेमा जारी जिल्ला लिग फुटबलमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार नेपालगन्ज रंगशालामा युनाइटेडले बुद्ध युवा क्लबलाई २–० ले पराजित गरेको थियो ।
युनाइटेडका लागि भिमसेन थापाले १९औं मिनेट र विभुषण केसीले ७५औं मिनेटमा गोल गर्दै सफलता दिलाए । लिगको सुरुआती खेलमा सफलता हासिल गर्ने क्रममा युनाइटेडले नव दुर्गा युवा क्लबलाई ४–० ले हराएको थियो । युनाइटेडले जितसँगै ६ अंक जोडेको छ ।
यसैगरी मंगलबार भएको अर्कोमा न्यु डाँफे स्पोर्टस क्लबले जय किसन स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन ।
लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।
लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।