आधिकारिक उम्मेदवारमै अलमलियो संस्थापन
Tuesday, March 1st, 2022, 9:08 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, १७
बाँके कांग्रेस निर्वाचनमा संस्थापन पक्ष(शेरबहादुर देउवा)बिचको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ । फागुन १९ गते हुन लागेको जिल्ला निर्वाचनमा आधिकारिक उम्मेदवारको विषयलाई लिएर संस्थापनका नेताहरु दुइ धु्रवमा विभाजित भएका छन् ।
संस्थापनभित्र पनि हमाल र केन्द्रीय सह–महामन्त्री किशोरसिंह राठौर पक्षमा नेताहरु वि
भाजित भएका छन । संस्थापनभित्र आधिकारिक सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा शिर्ष नेताहरु बिचको स्वार्थको लडाइले प्रभाव पारेको देखिन्छ । जसका कारण आधिकारितामै अलमलिएको देखिन्छ संस्थापन पक्ष ।
राठौर निकट बादशाह कुर्मीलाई सुरुआतमा संस्थापनको आधिकारिक सभापतिको उम्मेदवार भनेर प्रस्तुत गरिएको थियो । तर सोमबार सुरेन्द्र हमाललाई संस्थापनको आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरिएपछि थप विवाद उत्पन्न भएको थियो ।
सोमबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सुरेन्द्र हमाललाई आधिकारिक उम्मेदवारका रुपमा घोषणा गर्न निर्देशन दिएका थिए ।
डा. महतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीलाई फोन गरेर हमाल बाँकेको निर्वाचनमा संस्थापनको आधिकारिक उम्मेदवार भएको बताएका थिए । महतको फोन आउने वित्तिकै सुरेन्द्र हमाल संस्थापनको आधिकारिक उम्मेदवार बने । तर त्यसलाई संस्थापनकै केहि नेताहरु भने मान्न तयार भएनन । मंगलबार विहानै देखी संस्थापनबाट सभापतिको उम्मेदवार आफु भएको दाबी गर्दै सुरेन्द्र हमाल र बादशाह कुर्मीले छुटा– छुटै स्थानमा पत्रकार सम्मेलन गरे ।
१४औं महाधिवेशनमा बाँकेको नतिजा हेर्ने हो भने संस्थापन पक्ष बलियो देखिन्छ । संस्थापन समुहले बाँकेको क्षेत्र नम्बर २ र ३ मा क्षेत्रीय सभापति सहित नगर, र वडाका अधिकाश स्थानमा जितेको छ । क्षेत्र नम्बर १ मा कोइराला समुहले क्षेत्रीय सभापति जितेको थियो । तर आन्तरिक विवादमै संस्थापनले समय धेरै खर्चेकोको बेला कोइराला समुहलाई त्यसको फाइदा भएको छ ।
निर्वाचनको दिन नजिकिदै गएको बेला भोट माग्न भन्दा पनि संस्थापनका नेताहरु को आधिकारिक सभापति हो भन्ने विवादमै अल्झिए ।
मंगलबारको दिनभर पनि को आधिकारिक भन्ने विषयले नै चर्चा पायो । मंगलबार बिहानै नेपालगन्ज भुकुटीनगरमा बादशाह पक्षका नेताहरु भेला भएर सभापति जसरी भएपनि चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरे । त्यस वैठकमा लुम्बिनी प्रदेश सासद याकुव अन्सारी, बाँके क्षेत्र नम्बर ३ क्षेत्रीय सभापति नक्की खाँ, प्रदेश ‘ख’ सभापति राजेन्द्र आचार्य, राजकुमार बर्मा, मेघराज वली, देब बहादुर खत्री लगायतका नेताहरुको उपस्थिती थियो । उक्त वैठकले सुरुआत देखी नै संविधान सभा सदस्य बादशाह कुर्मीलाई संस्थापनले आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारेकोले त्यो निर्णय परिवर्तन गर्न नहुने अगान राखेका थिए । बरु पार्टीको शिर्ष तहमा स्थानीय नेता, कार्यकर्ताको भावनाको बारेमा जानकारी दिने र सभापतिमा जसरी पनि बादशाहलाई आधिकारिक उम्मेदवारको रुपमा चुनाव लडाउनु पर्ने निष्कर्ष निकालेका थिए । केन्द्रबाट चुनावको नजिकै आएर गरिएको निर्णय गलत भएको छलफलमा सहभागी भएका नेताहरुले बताए ।
बादशाह पक्ष नेताको भेला सकिए लगत्तै पार्टी कार्यालयमा सुरेन्द्र हमाल सहितको टोलीले पत्रकार सम्मेलन गरेको थियो । केन्द्रीय सदस्य वाल्मिकीले जिल्ला निर्वाचनमा संस्थापनबाट सुरेन्द्र हमाल नै आधिकारिक उम्मेदवार भएको घोषणा गरे । उनले भने, ‘पार्टी प्रवक्ताले मलाई केन्द्रको निर्णय जिल्लामा जानकारी गराउनु भन्नु भएको थियो । मैले त्यही कुरा भनेको छु । पार्टीका नेता तथा कार्यकर्तामा म फेरी पनि भन्छु, सुरेन्द्र संस्थापनको आधिकारिक उम्मेदवार हुन । त्यसमा दुइमत छैन । र यो टिमलाई मत हालेर जिताउन म आग्रह गर्दछु ।’
हमालको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य वाल्मिकी, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, रबिन्द्रमान श्रेष्ठ लगायतका शिर्ष नेता उपस्थित भएका थिए । बाँकेमा संस्थापनबिचको आन्तरिक विवादको फाइदा कोइराला समुहलाई हुने देखिन्छ ।
मंगलबार संस्थापनको पत्रकार सम्मेलन भैरहेका बेला कोइराला समुहका सभापति नारायण प्रसाद गौडेल र सचिव सुधान्शु कोइरालाले नेता तथा कार्यकर्तासँग पार्टी कार्यालय बाहिर मत मागिरहेका थिए ।
फागुन १९ गते जिल्ला समन्वय समितिमा हुने बाँके कांग्रेसको निर्वाचनमा १ हजार ४ सय ९३ प्रतिनिधिले मत हाल्नेछन । जसले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्नेछ ।