दुर्घटनामा बालिकासहित तीन घाइते
Wednesday, March 2nd, 2022, 10:57 am
Kalpristha
दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजना बालिकासहित तीनजना घाइते भएका छन् । दुर्घटनामा पैदलयात्रीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
कारले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ७ की १० वर्षीया बालिकाका सन्ध्या चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मंगलबार राति मृत्यु भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती ६ सगरापुरका ४४ वर्षीय जयराम चौधरी र उनकी बहिनी ३५ वर्षीया बेदकुमारी चौधरी घाइते छन् । मृतक सन्ध्या जयरामको भान्जी हुन् ।
प्रहरीका अनुसार घाइते बेदकुमारी र जयरामलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ ।
साथै दुर्घटनामा पैदल यात्री लमही नगरपालिका ८ असानीका २८ वर्षीय पारस बोहरा पनि घाइते छन् । उनको लमहीमै उपचार भइरहेको छ ।
गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु२च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा३प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी करिब १० बजे गढवा गाउँपालिका २ महादेवा पुल नजिकै दुर्घटनामा परेका थिए ।
तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ । कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।