बाँके प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोल, त्यसमा लाग्ने नौ राउण्ड गोलीलगायत विभिन्न हातहतियारसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरी उनीहरुलाई मंगलबार राती डुडुवा गाउँपालिका–४, सिधनियाघाटमा रहेको राप्ती पुल नजिकबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर बरमाद गरिएका वस्तु र अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँके बाट प्रहरी नायव निरीक्षक गोपाल शर्मासमेतको टालीले नेपालगन्जदेखि राप्तीनदी तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकी चोकजाँच गर्ने क्रममा सो गाडीबाट ‘मेड इन युएसए’ लेखेको अटोमेटिक पेस्तोतसहित हातहतियार फेला परेको हो ।
शर्मासहिते प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुबाट एकथान पेस्तोल, नौ थान गोली, एकथान खुडा, दुई थान नक बरामद गरेको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका–१२ निवासी २८ वर्षीय दिपेन्द्र अधिकारी, नेपालगन्ज उप–महानगरपालिका–१८ निवासी २२ वर्षीय सुशान्त केसी र लम्कीदुहा नगरापालिका–३, कैलालीका ३२ वर्षीय द्धारीका उपाध्याय रहेको छ ।
जिल्ला प्रहरी बाँकेका प्रवक्ता मधुसुधन न्योपाने बरामद भएको पेस्तो दिपेन्द्र अधिकारीको रहेको र पक्राउ पर्ने तीनैजना साथी रहेको बताउँछन् ।
अधिकारी यसअघि पनि धेरै अपराधिक क्रियाक्लापमा सक्रिय रहेको लागु औषध लगायत अन्य विभिन्न अपराधमा सजाय समेत काटिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ । सो पेस्तोल र गोलीहरु अधिकारीले तीन महिना अगाडी भारत लखनउबाट अशरफ अलीबाट ५० हजार भारुमा किनेर ल्याएको अनुसन्धानबाट खुलेको छ ।
अभियुक्तहरु
प्रवक्ता न्योपानेका अनुसार दिपेन्द्र अधिकारी यसभन्दा अगाडि सातवटा घटनामा पनि संलग्न रहेका छन् भने ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पनि हुन् । यसअघि अधिकारी लागूऔषध, चोरी तथा जवरजस्ती जस्ता घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।