नयाँ नेतृत्व चयन गर्दै बाँके कांग्रेस
Wednesday, March 2nd, 2022, 9:13 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, १८
नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चयनका लागि आज बिहिबार निर्वाचन हुँदैछ । निर्वाचनमा सभापतिका तिन जना उम्मेदवारले आ–आफनो टिम बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन । संस्थापन पक्ष(शेरबहादुर देउवा)बाट बादशाह कुर्मी र सुरेन्द्र हमालले सभापतिमा उम्मेदवारी दिएका छन ।
कोइराला टिमले नारायण प्रसाद गौडेलको नेतृत्वमा चुनावमा प्रतिस्पर्धा गर्न गैरहेको छ । संस्थापनबाट सभापतिको उम्मेदवार बादशाह कुर्मी र सुरेन्द्र हमाल भएपनि पदाधिकारीमा भने संस्थापनको एउटै टोली रहेको छ । पटक पटकको स्थगित पछि आज बाँके कांग्रेसको निर्वाचन हुन लागेको हो । आगामी नेतृत्व चयनका लागि बाँके कांग्रेसका प्रतिनिधिहरु उत्साहका साथ आज निर्वाचनमा सहभागी हुँदैछ ।
विहान ९ बजेदेखी जिल्ला समन्वय समिति बाँकेको हलमा सुरु हुने निर्वाचन बेलुका ५ बजे सम्म चल्नेछ । निर्वाचन समितिका सदस्य अर्जुन ओलीका अनुसार सभापतिका तिन जना उम्मेदवार सहित बुधबार बाँकेका सुरक्षा प्रमुख, निर्वाचन समितिका पदाधिकारीबिच निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्नका लागि आचार संहिता निर्माण गरिएको छ । उक्त आचार संहितामा तिनै उम्मेदवारले सहमति जनाएको प्रेस युनियन बाँके अध्यक्ष तथा निर्वाचन समितिका सदस्य अर्जुन ओलीले बताए ।
सभापतिको उम्मेदवारले आफनो समुहका लागि ६ जना एजेन्टलाई राख्न पाउने नियम बनाइएको छ । लामो समयको विवाद पछि संस्थापन पक्षबाट अन्तत संविधान सभा सदस्य बादशाक कुर्मी र लुम्बिनी प्रदेशका बन मन्त्री सुरेन्द्र हमालबिच सहमति हुने सकेन । संस्थापनको आधिकारिक उम्मेदवारको विवादका बिच दुइ नेताले आफुलाई आधिकारिक दाबी गर्दै चुनावमा होमिएका छन।
बुधबार दिनभर तिनै समुहका नेता तथा कार्यकर्ताहरु आफनो टिमलाई विजयी गराउन मतदातासँग मत माग्न व्यस्त रहे । आफनो टिमलाई सहयोग गर्नको लागि कोइराला समुहबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य संजय गौतम, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर बहादुर पुन लगायतका नेताहरु कसरत गरिरहेका छन । यसैगरी संस्थापन पक्षलाई बलियो बनाएका लागि केन्द्रीय सह–महामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्य एवम पुर्व सभासद मैकुलाल वाल्मिकीले मिहिनेत गरिरहेका छन ।
तर बाँकेमा संस्थापन समुहको सभापतिको उम्मेदवारमा भने सहमति हुन सकेको छैन । राठौर समुहका नेताले बादबाह कुर्मीलाई समर्थन गरिरहेका छन भने वाल्मिकी, कांग्रेस केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाँण लगायतका नेताले सुरेन्द्र हमाललाई समर्थन गरिरहेका छन । निर्वाचनमा १ हजार ४ सय ९३ प्रतिनिधिले आगामी चार वर्षका लागि बाँके कांग्रेसको नेतृत्वलाई चयन गर्नेछन ।