ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा शिविर
Thursday, March 3rd, 2022, 3:40 pm
Kalpristha
जनतासँग स्थानीय सरकार अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि बिहीबारदेखि निःशुल्क आँखा शिविर संचालन भएको छ । पालिकाको वडा नम्बर ८ मा सुरु भएको आँखा शिविरको खजुरा गाउँपालिकाका सबै वडामा संचालन हुनेछ ।
शिविरको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले शुभारम्भ गरे । कक्षपतिले पालिकाले दिएको निःशुल्क आँखा जाँच र औसधि सेवा लिन ज्येष्ठ नागरिकलाई आग्रह गरेका थिए ।
विगतका वर्षहरुमा पनि आँखा शिविरका साथै स्वास्थ्य शिविर संचालन गरिएको थियोे । अध्यक्ष कक्षपतिले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बेला बेलामा यस्ता शिविर गरिएको बताए ।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य भक्तबहादुर केसी, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेललगायतको सहभागिता रहेकोे थियोे ।
भिजन आँखा अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा शिविर संचालन भैरहेको छ । वडा नम्बर ८ मा १६५ जनाको आँखा जाँच भएकोमा २९ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार शल्यक्रिया पनि निःशुल्क गरिनेछ ।