सैनिकतर्फको क्षतिमा युक्रेन र रुसको फरक–फरक आंकडा
Thursday, March 3rd, 2022, 3:48 pm
Kalpristha
सैनिकतर्फको क्षतिमा पनि युक्रेन र रूसले फरक–फरक आंकडा सार्वजनिक गरेका छन् । युक्रेनले अहिलेसम्म ७ हजार रूसी सैनिक मारिएको दाबी गरेको छ । बुधबार पहिलो पटक युक्रेन युद्धमा ज्यान गुमाउनेको संख्या सार्वजनिक गर्दै रूसले आफ्ना ४९८ सैनिक मारिएको र १५९७ भन्दा बढी घाइते भएको जनाएको छ ।
युक्रेनतर्फ २८७० सैनिक मारिएको । ३७०० घाइते भएको र ५७२ लाई रूसी सेनाले नियन्त्रणमा लिएको मस्कोको दाबी छ ।
रूसी सैनिकको मृत्युबारे मस्कोकै दाबीलाई सत्य मान्ने हो भने पनि दुई दशकमा यो रूसी सेनाले भोगेको ठूलो क्षति हो ।
संयुक्त राष्ट्रसंघका अनुसार बुधबारसम्म २२७ युक्रेनी नागरिकको मृत्यु भएको छ भने ५२५ जना घाइते भएका छन् । यसमा केही बालबालिका पनि परेका छन् । यो अनुमानित आँकडा हो ।
यसअघि युक्रेनी सरकारले २ हजारभन्दा बढी नागरिकको मृत्यु भएको हुन सक्ने बताएको छ । युद्धका बेला ज्यान गुमाउनेको संख्या एकीन गर्न निकै गाह्रो हुन्छ । युद्धरत पक्षले आफूलाई फाइदा पुग्नेगरी क्षतिको विवरण भन्ने भएकाले स्वतन्त्र पुष्टी गर्न कठिन हुने हो ।
द न्युयोर्क टाइम्सका अनुसार सन् १९९९ को चेचन्या युद्धपछि एकै सैनिक अप्रेशनमा यति धेरै रूसी सैनिक मारिएका थिएनन् ।
रूसले अहिलेसम्म नागरिकलाई लक्षित गरी आक्रमण नगरेको बताएको छ तर रूसी आक्रमणमा आमयुक्रेनीले पनि ज्यान गुमाएका छन् ।
आठौं दिनमा आइपुग्दा रूसी सैनिकहरूले पूर्वी युक्रेनको एउटा क्षेत्रीय राजधानी कब्जामा लिएका छन् । युक्रेनको राजधानी किएभ कब्जा गर्ने उनीहरूको प्रयास जारी छ । नागरिकस्तरबाट रूसी आक्रमणको प्रतिरोध भइरहेकाले किएभको बाहिर पुगेको तीन दिन भइसक्दा पनि रूसी सैनिकले सहर कब्जा गर्न सकेका छैनन् ।