रामेश्वर खनालले नयां शक्ति त्याग्दै भने म अहिले पनि कांग्रेस नै हुँ
Wednesday, March 15th, 2017, 8:36 am
amit
काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका आर्थिक नीति विभाग प्रमुख रामेश्वर खनालले पार्टी परित्याग गरेका छन्। पछिल्लो समय पार्टीका कुनै गतिविधिमा सहभागी नभएका उनले सोमबार सामाजिक सञ्जाल ट्विटरबाट आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेका हुन्।
म कुनै पार्टीमा छैन। राजनीति मेरो क्षमताको विषय रहेनछ’, सामाजिक सञ्जालमा आफ्नाबारेमा प्रष्टिकरण दिँदै उनले भनेका छन्।
डा.भट्टराईले नयाँ शक्ति घोषणा गर्नु अगाडि गठन गरेको केन्द्रीय परिषदका संस्थापक २५ सदस्यमध्ये एक जना खनाल थिए। उनले नयाँ शक्ति पार्टीका आर्थिक योजना तथा प्रतिवेदन निर्माणमा प्रत्यक्ष रुपमा डा.भट्टराईसँग मिलेर काम गरेका थिए। उनी पार्टीको आर्थिक नीति विभाग प्रमुखको हैसियतमा काम गरिरहेका थिए। पछिल्लो तीन महिनायता भने उनी पार्टीप्रति निस्क्रिय रहेका थिए।
‘म प्रवेश गरेको कांग्रेसमा मात्रै हो। अहिले पनि कांग्रेस नै हुँ। म नयाँ शक्तिमा कहिलै थिइनँ। नयाँ शक्तिको शुभेच्छुक चाहिँ थिएँ’, खनालले भने।
डा.भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका माओवादी पार्टीहरुले ज्यान मुद्दामा सर्वोच्चले दोषी ठहर गरेका बालकृष्ण ढुंगेललाई अभिनन्दन गरेपछि सर्वसाधारणले उनीसँग प्रतिक्रिया मागेका थिए। त्यसको जवाफ दिने क्रममा सार्वजनिक रुपमै आफू सो पार्टीमा नरहेको भन्दै राजनीतिप्रति वितृष्णा जनाएका थिए।
नयाँ शक्तिमा विवाद भएपछि गत पुस २६ र २७ गतेका लागि तोकिएको केन्द्रीय परिषद बैठक अन्तिम समयमा रोकिएको थियो।
सो परिषदमा असन्तुष्ट पक्ष निर्मल भट्टराई, देव लिम्बुलगायत केन्द्रीय नेताहरुले ११ बुँदे फरक मत राखेका थिए। उनीहरुले निःशर्त स्थानीय निर्वाचनमा जानु पर्ने र नेतृत्वले भारतपरस्त अारोपको व्यवस्थित खण्डन गर्नुपर्ने लगायतका माग उठाएको थियो। ती मागहरुप्रति खनाल स्वयंले नैतिक समर्थन जनाएका थिए।
यसअघि नयाँ शक्तिबाट केन्द्रीय परिषद सदस्य मुमाराम खनालले पार्टी छोडिसकेका छन्।