दोस्रो चरणबाट चयन गरिदै बाँके कांग्रेस सभापति
Thursday, March 3rd, 2022, 9:09 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, १९
नेपाली कांग्रेस बाँके सभापतिको टुङ्गो दोस्रो चरणको निर्वाचनबाट हुने भएको छ । बिहिबार भएको निर्वाचनमा सभापति पदको कुनै पनि उम्मेदवारले ५१ प्रतिसत मत प्राप्त गर्न सकेनन ।
नेपाली कांग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुनका लागि खसेको मतको ५१ प्रतिसत मत प्राप्त गर्नु पर्ने हुन्छ । यदि खसेको मतको ५१ प्रतिसत मत प्राप्त नगरेको अवस्थामा पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो स्थानका प्रतिस्पर्धीले दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन । निर्वाचन समितिका अनुसार शुक्रबार दोस्रो चरणको निर्वाचन हुनेछ ।
बिहिबार जिल्ला समन्वय समिति बाँकेमा भएको निर्वाचनमा १ हजार ४ सय ४५ मत खसेको थियो । बाँके कांग्रेसको जिल्ला निर्वाचनमा यसपटक १ हजार ४ सय ९३ क्षेत्रीय प्रतिनिधिले मतदाताको रुपमा निर्वाचन गर्न पाउनेछन ।
बिहिबार खसेको मत अनुसार ५१ प्रतिसत पुग्नको लागि ७ सय ३६ मत प्राप्त गर्नु पर्ने थियो । तर कसैले पनि उक्त मत प्राप्त गरेनन । बिहिबार भएको निर्वाचनमा नारायण गौडेलले ५ सय ७०, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत प्राप्त गरे । २४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । शुक्रबार विहान १० बजेदेखी ३ बजे सम्म पुन सभापतिको लागि निर्वाचन हुनेछ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँके जिल्ला निर्वाचनमा संस्थापनबाट संविधान सभा सदस्य वादशाह कुर्मी, लुम्बिनी प्रदेशका बन मन्त्री सुरेन्द्र हमालले सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।
कोइराला समुहबाट नारायण गौडेलले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापनबाट सभापतिमा को आधिकारिक उम्मेदवार भन्ने विवादका बिच दुइ जना उम्मेदवार बनेका थिए । निर्वाचनको अन्तिमसम्म आधिकारिक उम्मेदवार बन्ने प्रतिस्पर्धाका बिच बादशाह कुर्मी र सुरेन्द्र हमालले चुनावमा प्रतिस्पर्धा गरे ।
दोस्रो चरणको निर्वाचनमा हमालले कसलाई समर्थन गर्छन् भन्ने कुराले शुक्रबार हुने सभापतिको निर्वाचनमा प्रभाव पार्ने देखिएको छ । संस्थापन पक्षका हमालले सुरुआत देखी यदि पहिलो चरणको निर्वाचनमा नतिजा नआएको अवस्थामा दोस्रो चरणमा संस्थापन पक्षका सबैले एक भएर निर्वाचन सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।