बाँके कांग्रेस निर्वाचन: मौन छन सुरेन्द्र हमाल
Friday, March 4th, 2022, 9:18 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
नेपाली कांग्रेस बाँकेको आज शुक्रबार हुन लागेको सभापति पदको निर्वाचनमा सुरेन्द्र हमालको मत निर्णायक मानिएको छ । सुरेन्द्र हमालले कसलाई सहयोग गर्ने भन्ने विषयले आज हुने निर्वाचनलाई असर पार्ने देखिएको छ । तर हमालले भने सार्वजनिक रुपमा कसलाई सहयोग गर्ने भन्ने बारेमा आफनो धारणा सार्वजनिक गरेका छैनन ।
हमाल यो समाचार तयार पारिन्जेल सम्म मौन छन । उनले आफने धारणा सार्वजनिक गरेका छैनन । संस्थापनका केहि सिनियर नेता उनलाई मनाएर बादशाह कुर्मीलाई सहयोग गर्ने वातावरण मिलाउने प्रयास गरिरहेका छन । तर हमाल मौन बसेको कारण अप्ठयारो भएको संस्थापनका एक नेताले बताए ।
संस्थापन समुहबाट सुरेन्द्र हमाल र बादशाह कुर्मीले बिहिबार प्रतिस्पर्धा गरेका थिए । संस्थापनकै नेता किशोर सिंह राठौरले बादशाह कुर्मीलाई आधिकारिक उम्मेदवारका रुपमा अगाडी सारेका थिए । तर अन्तिम समयमा संस्थापनबाट आधिकारिक उम्मेदवारका रुपमा सुरेन्द हमाललाई घोषणा गरिएको थियो ।
आधिकारिक उम्मेदवारको विषयलाई लिएर हमाल र राठौरबिच आन्तरिक विवाद सुरु भएको थियो । केन्द्रको निर्णय नमानेका कारण हमाल लगायतका संस्थापनका केहि नेताहरु राठौरलाई कारबाही गर्नु पर्ने माग गरिरहेका छन ।
कालपृष्ठ डटकमसँग कुराकानी गर्दै तिन नेताले भने, ‘सह–महामन्त्रीले संस्थापनका साथीहरुसँग छलफल नगरि एक तर्फ बादशाहलाई उम्मेदवार बनाउनु भयो । पछि केन्द्र निर्णय पनि उहाँले मान्नु भएन । उहाँले आफनो टिममा दादागिरी शैलीमा निर्णय गर्नु भएको छ । यसका बारेमा केन्द्रमा जानकारी गराएको छौं । उहाँलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।’
नेपाली कांग्रेसका सह–महामन्त्री राठौर पश्चिम क्षेत्र संस्थापनको उदाउँदै गरेको नेता हुन ।
संस्थापन भित्रै पनि गृहमन्त्री एवम केन्द्रीय सदस्य बालकृष्ण खाँड र राठौरबिच आन्तरिक प्रतिस्पर्धा छ । बाँकेमा राठौरले हस्तक्षेपकारी भुमिका खेलेको भन्दै संस्थापनकै केहि नेताहरु बिरोध गरिरहेका छन । तर संस्थापनका केहि नेताहरु भने राठौरको पक्षमा छन । उनीहरु राठोरले बाँकेमा संस्थापनलाई थप बलियो बनाउन मिहिनेत गरेको बताउँछन ।
नेपाली कांगे्रस बाँके सभापतिको लागि आज पुनः दोस्रो पटक निर्वाचन हुँदैछ । आज हुने निर्वाचनमा सुरेन्द्र हमालले जसलाई सहयोग ग¥यो उसले जित्ने पक्का छ । विहिबार भएको निर्वाचनमा नारायण प्रसाद गौडेलले ५६९, बादशाहले ५३८ र सुरेन्द्रले ३१४ मत प्राप्त गरेका थिए । आज पहिलो र दोस्रो हुने उम्मेदवार बिच प्रतिस्पर्धा हुदैछ । तर आज सुरेन्द्रले कसलाई सहयोग गर्छन भन्ने विषय निर्वाचनको निर्णायक हुने देखिएको छ । बिहिबार पहिलो चरणबाट सभापतिको टुङगो नलागेपछि पहिलो हुने गौडेल र दोस्रो हुने बादशाहले हमाललाई फकाउन सुरु गरेका थिए ।