मतदाताले आफनो विवेक प्रयोग गर्नुहुन्छः सुरेन्द्र हमाल
Friday, March 4th, 2022, 9:48 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
सुरेन्द्र हमाल आज हुन लागेको बाँके कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा मौन बसेका छन । उनले सार्वजनिक रुपमा आफनो धारणा सार्वजनिक गरेका छैनन । तर बागेश्वरी पोस्टसँग कुराकानी गर्ने क्रममा उनले आजको निर्वाचनमा मतदाताले स्वविवेक प्रयोग गर्ने बताएका छन । उनले भनेका छन, ‘आज कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताले पक्कै आफनो विवेक प्रयोग गर्नुहुन्छ, मैले यसलाई भोट हाल्नुस भन्दिन ।’
नेपाली कांग्रेस बाँकेको आज हुने सभापति पदको निर्वाचनमा सुरेन्द्र हमालको मत निर्णायक मानिएको छ । सुरेन्द्र हमालले कसलाई सहयोग गर्ने भन्ने विषयले निर्वाचनलाई असर पार्ने देखिएको छ । संस्थापनका केहि सिनियर नेता उनलाई मनाएर बादशाह कुर्मीलाई सहयोग गर्ने वातावरण मिलाउने प्रयास गरिरहेका छन । तर हमाल मौन बसेको कारण अप्ठयारो भएको संस्थापनका एक नेताले बताए ।
संस्थापन समुहबाट सुरेन्द्र हमाल र बादशाह कुर्मीले बिहिबार प्रतिस्पर्धा गरेका थिए । संस्थापनकै नेता किशोर सिंह राठौरले बादशाह कुर्मीलाई आधिकारिक उम्मेदवारका रुपमा अगाडी सारेका थिए । तर अन्तिम समयमा संस्थापनबाट आधिकारिक उम्मेदवारका रुपमा सुरेन्द हमाललाई घोषणा गरिएको थियो । आधिकारिक उम्मेदवारको विषयलाई लिएर हमाल र राठौरबिच आन्तरिक विवाद सुरु भएको थियो । केन्द्रको निर्णय नमानेका कारण हमाल लगायतका संस्थापनका केहि नेताहरु राठौरलाई कारबाही गर्नु पर्ने माग गरिरहेका छन ।
कालपृष्ठ डटकमसँग कुराकानी गर्दै तिन नेताले भने, ‘सह–महामन्त्रीले संस्थापनका साथीहरुसँग छलफल नगरि एक तर्फ बादशाहलाई उम्मेदवार बनाउनु भयो । पछि केन्द्र निर्णय पनि उहाँले मान्नु भएन । उहाँले आफनो टिममा दादागिरी शैलीमा निर्णय गर्नु भएको छ । यसका बारेमा केन्द्रमा जानकारी गराएको छौं । उहाँलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।’
नेपाली कांग्रेसका सह–महामन्त्री राठौर पश्चिम क्षेत्र संस्थापनको उदाउँदै गरेको नेता हुन । संस्थापन भित्रै पनि गृहमन्त्री एवम केन्द्रीय सदस्य बालकृष्ण खाँड र राठौरबिच आन्तरिक प्रतिस्पर्धा छ । बाँकेमा राठौरले हस्तक्षेपकारी भुमिका खेलेको भन्दै संस्थापनकै केहि नेताहरु बिरोध गरिरहेका छन । तर संस्थापनका केहि नेताहरु भने राठौरको पक्षमा छन । उनीहरु राठोरले बाँकेमा संस्थापनलाई थप बलियो बनाउन मिहिनेत गरेको बताउँछन ।
नेपाली कांगे्रस बाँके सभापतिको लागि आज पुनः दोस्रो पटक निर्वाचन हुँदैछ । आज हुने निर्वाचनमा सुरेन्द्र हमालले जसलाई सहयोग ग¥यो उसले जित्ने पक्का छ । विहिबार भएको निर्वाचनमा नारायण प्रसाद गौडेलले ५६९, बादशाहले ५३८ र सुरेन्द्रले ३१४ मत प्राप्त गरेका थिए । आज पहिलो र दोस्रो हुने उम्मेदवार बिच प्रतिस्पर्धा हुदैछ । तर आज सुरेन्द्रले कसलाई सहयोग गर्छन भन्ने विषय निर्वाचनको निर्णायक हुने देखिएको छ । बिहिबार पहिलो चरणबाट सभापतिको टुङगो नलागेपछि पहिलो हुने गौडेल र दोस्रो हुने बादशाह पक्षका नेताले हमाललाई फकाउने प्रयास गरिरहेका छन ।