युक्रेनले गर्यो पत्रकार सम्मेलन
Friday, March 4th, 2022, 11:31 am
Kalpristha
रूसले आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पत्रकार सम्मेलन गरेका छन्।
रूसी आक्रमण सुरू भएपछि अनौपचारिक पहिरनमा भिडिओ सार्वजनिक गर्दै युक्रेनी जनतालाई साहस दिइरहेका जेलेन्स्की अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेट्दा पनि त्यस्तै पहिरनमा थिए।
द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति कार्यालयसम्म पुग्न पत्रकारहरूले सडकमा थुप्रै अवरोधकहरू पार गर्नुपरेको थियो। रूसी ट्यांकहरूलाई अवरोध गर्न ती अवरोधक बनाइएका हुन्।
राष्ट्रपति भवनभित्र जेलेन्स्कीको कार्यालयका झ्यालमा बालुवाका बोराहरू राखिएको टाइम्सले उल्लेख गरेको छ।
पत्रकार सम्मेलनका क्रममा हतियार बोकेका सुरक्षाकर्मी सँगै उभिएका थिए। जेलन्स्कीले अहिले आफू रातमा तीन घन्टामात्र सुत्ने गरेको बताएका थिए।
झुस्स दाह्री भएका र थाकेजस्ता देखिने जेलेन्स्कीले रूसी आक्रमणमा युक्रेनीले गरेको प्रतिरोधको प्रशंसा गरे।
‘युक्रेनीहरूको साहसका बलमा म बलियो र निर्णायक भएको छु,’ जेलेन्स्कीले भने।
उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताए।
‘म पुटिनसँग कुरा गर्न चाहन्न भन्ने होइन,’ उनले भने,‘मैले पुटिनसँग कुरा गर्नुपर्छ, सारा विश्वले पुटिनसँग कुरा गर्नुपर्छ। यो युद्धलाई रोक्न त्योबाहेक अर्को कुनै बाटो छैन।’
युक्रेनको सार्वभौमसत्ता बाहेक अरू केही बुँदामा आफू सम्झौता गर्न तयार रहेको उनले बताए।
रूसीहरूले पहिला नै सबै प्रश्नको उत्तर तयार पारेकाले अहिले वार्ता गरेर नयाँ कुरा आउन सम्भव नभएको उनले बताए।
रूसी आक्रमणको प्रतरोध गर्न पश्चिमा मुलुकहरूले युक्रेनलाई अझै सैन्य सहयोग गर्नुपर्ने उनको भनाइ थियो। उनले फ्रान्स र जर्मनीसँग युक्रेनलाई नो फ्लाई जोन घोषणा गर्न पनि आग्रह गरे।
हास्य कलाकारबाट राष्ट्रपति बनेर पुटिनसँग लडिरहेका जेलेन्स्की
तीन वर्षअघि यतिबेला पूर्वी युरोपेली मुलुक युक्रेनमा चुनावी माहौल थियो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भएको युक्रेनको चुनावमा उम्मेदवारी दिएर भोलोदिमिर जेलेन्स्कीले संसारको ध्यान तानेका थिए।
त्यतिबेला ४१ वर्षमात्रै पुगेका जेलेन्स्कीको चर्चा युवा भएकाले मात्रै थिएन, उनी टेलिभिजन सिरियलमा पनि देशको कार्यकारी पद सम्हालेको अभिनय गर्थे। एउटा हास्य कलाकार कसरी राष्ट्रपति हुन्छ भनेर विरोधीले उनलाई उडाएका थिए।
जेलेन्स्की युक्रेनका लोकप्रिय हास्य कलाकार थिए। त्यही लोकप्रियताका कारण उनी ७३ प्रतिशत मत पाएर युक्रेनको छैठौं राष्ट्रपति निर्वाचित भएका थिए।
त्यतिबेला जेलेन्स्कीसँग पराजित भएका युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेका थिए( अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन्।
तीन वर्षपछि पोरोसेन्को भनाइ गलत सावित भएको छ। जेलेन्स्की रूसी प्रभावको कक्षमा परेका छैनन् बरू रूसले युक्रेनलाई आफ्नो प्रभावमा पार्न सेना पठाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किएभमा जेलेन्स्कीको सरकार ढालेर आफूले भनेको मान्ने मान्छेको सरकार बनाउन चाहेका छन्।
पहिलो पटक कार्यकारी पद सम्हालेका जेलेन्स्कीले दोस्रो विश्वयुद्धपछि युरोपको कुनै एउटा मुलुकले अर्को मुलुकमा गरिरहेको सबैभन्दा ठूलो सैन्य आक्रमण झेलिरहेका छन्। सानो मुलुक युक्रेन अहिले संसारको शक्तिशालीमध्येको एक रूसको सैनिकसँग लडिरहेको छ।
दुई लाख बढी रूसी सैनिकले जल, जमिन र हवाई मार्गबाट गरिरहेको आक्रमण जेलेन्स्की एक्लै लड्नु पर्नेछ। विश्वका शक्ति राष्ट्रका नेताहरूले उनलाई ुहामी छौुं भनेर ढाडस त दिएका छन् तर युक्रेनमा रूसी सैनिकविरूद्ध लड्न न अमेरिकाले सेना पठाउने छ न त उत्तर एटलान्टिक सन्धी संगठन ९नेटो० का सैनिक आइपुग्ने छन्।
जेलेन्स्कीलाई राम्ररी थाहा छ, रूसी आक्रमणको पहिलो निशाना उनी नै हुन्। उनले शुक्रबार भनेका छन्( उनीहरूले पहिलो निशाना मलाई बनाएका छन्। त्यसपछि उनीहरूले मेरो परिवारलाई मार्नेछन्। राष्ट्र प्रमुखलाई मारेर उनीहरू युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहन्छन्।
आफू युक्रेन नछोडेर नभाग्ने जेलेन्स्कीले बताएका छन्।
‘म राजधानीमै बस्नेछु र मेरो परिवार पनि युक्रेनमै रहनेछ,’ उनले भनेका छन्।

पत्रकार सम्मेलन
जेलेन्स्कीको राष्ट्रपति यात्रा
सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अथ्र्याएका थिए।
तत्कालीन राष्ट्रपति पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई रूसमा गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए। तर उनको कार्यकाल पनि युक्रेनीको जीवनस्तरमा सुधार नआएको र सरकारी भ्रष्टाचार झन् बढेको भन्दै नागरिकमा असन्तुष्टि थियो। त्यही असन्तुष्टिलाई जेलेन्स्कीले आफ्नो पक्षमा पारेका थिए।
उनले आम मानिसका दैनिक जीवनका विषयहरूलाई आफ्नो एजेन्डा बनाएका थिए।
जितपछि उनले भनेका थिए( युक्रेनी नागरिकको हैसियतमा पोस्ट सोभियत युनियनका देशहरूलाई म भन्न सक्छु( हामीलाई हेर, जे कुरा पनि सम्भव छ।
राष्ट्रपति बनेपछि इयू र पश्चिमाहरूसँगको सम्बन्धलाई जेलेन्स्कीले कसिलो बनाएका थिए। सरकार कार्यालयमा राष्ट्रपतिको साटो आफ्ना बच्चाको तस्बिर राख्न निर्देशन दिएका थिए। अनुभव नभए पनि उनले राष्ट्रपति राम्ररी नै चलाइरहेका थिए।
युक्रेनमा समर्थकलाई निराश नपारे पनि जेलेन्स्कीले भूराजनीतिको खेलमा आफूलाई अब्बल साबित गर्न सकेनन्। रूसले युक्रेनमाथि बिहीबार सैनिक हमला नै गर्यो।
एउटा सानो छिमेकीमाथि रूस र राष्ट्रपति पुटिनले गरेको यो आक्रमणको समीक्षा इतिहासले गर्ला तर अहिले भने जेलेन्स्की युक्रेनका सबैभन्दा कमजोर राष्ट्रपति देखिएका छन्।
साभार : सेतोपाटी