राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को ७औं महाअधिवेशन नेपालगन्ज संचालन हुँदैछ । नेशनल प्याब्सनले शुक्रबार पत्रकार सम्मेलन गरेर फागुनको २२ र २३ गते नेपालगन्जमा महाअधिवेशन संचालन हुने जानकारी गराएको हो ।
कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अधिवेशनबाट नयाँ कार्यसमितिसमेग चयन गरिने बताए । उनले अधिवेशनमा देशभरबाट करिब एक हजार पाँच सय विद्यालयका प्रतिनिधिहरुको उपस्थिति हुने बताए ।
महाधिवेशनका सुरुवातमा नेशनल प्याब्सनले नेपालगन्जको धम्बोझी चोकदेखि सोल्टी होटलसम्म झाँकीसहितको ¥यालीको पनि आयोजना गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको उद्घाटन संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीद्वारा गरिने छ ।
नेशनल प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष सुवेद डांगीले पहिलोपटक नेपालगन्जमा महाधिवेशन हुन लागेको बताए । उनले कार्यक्रममा देशभरबाट सहभागिता जनाइने हुनाले नेपालगन्जलाई देशव्यापीरुपमा प्रचार गर्न कार्यक्रमले सहयोग गर्ने बताए । उनले अधिवेशनले आन्तरिक पर्यटन प्रवद्धनमा पनि टेवा पुग्ने बताए ।
नेशनल प्याव्सन बाँकेका अध्यक्ष स्याम कुवरले अधिवेशनको माध्यामबाट नेपालगन्जको भौतिक, सामाजिक, प्राकृतिक कुराहरुको प्रचार प्रसार समेत हुने बताए ।
महाधिवेशनमा विभिन्न मुद्दाहरुमा छलफल गरिने अध्यक्ष सापकोटाले बताए । उनले शिक्षामा स्थानीय निकायको एकल र प्रदेश तथा संघको साझा नीति नियम भएकाले शिक्षा नीति उल्झनमा परको बताए । त्यसैले सरकारले शिक्षामा एक रुपता ल्याउनु पर्ने, बालबालिकालाई निजीगत तथा सरकारी विद्यालयका हिसाब नछुट्याई छात्रवृत्तिको व्यवस्था ल्याउनु पर्ने र पूर्वाधार पुगेका निजीगत विद्यालयलाई पनि प्राविधिक शिक्षा प्रदान गर्न दिनुपर्ने मुद्दाहरुमा छलफल गरिने सापकोटाले बताए ।
हाल नेशनल प्याब्सनमा तीन हजार निजीगत विद्यालयहरु आवद्ध रहेका छन् भने ४७ जिल्लामा समिति र सातवटा जिल्लामा नेशनल प्याब्सनको तदर्थ समिति रहेको छ ।