चार सय तीन नेपाली पोल्याण्ड पुगे
Friday, March 4th, 2022, 6:51 pm
Kalpristha
कालपृष्ठ डेस्क
रसिया–युक्रेन युद्ध नर्वौ दिन शुक्रबार चार सय तीनजना नेपाली युक्रेन छोडेर पोल्याण्ड पुगेका छन् । युक्रेनबाट पोल्याण्डको सुरक्षित स्थानतर्फ लाग्न विभिन्न तीन नाका हुँदै उनीहरु पोल्याण्ड प्रवेश गरेका हुन् ।
विभिन्न समयमा युक्रेन पुगेका नेपालीहरूलाई युक्रेनबाट उद्धार गरि सुरक्षित स्थानतर्फ लगिएको नेपाली जनसम्पर्क समितिले जनाएको छ । पोल्याण्ड आएका सबै नेपालीहरू सुरक्षित अवस्थामा रहेको समितिले जनाएको छ ।
युक्रेनमा थप संकट चुलिएपछि पोल्याण्डस्थित विभिन्न संघ–संस्थाहरूले नागरिकलाई उद्धार गर्न सहयोग गरिरहेका छन् । गैरआवासीय नेपाली संघ, अन्तर्रापष्ट्रिय समाज र विभिन्न संघ–संस्थाहरूले युद्धबाट प्रभावित नेपालीहरूलाई सुरक्षित स्थानतर्फ लैजान सहयोग गरेका छन् । अब युक्रेनमा थोरैमात्रामा मात्र नेपाली रहेको समितिले जनाएको छ ।
रुसी सेनाले परमाणु ऊर्जा केन्द्र कब्जा
रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन् । ‘कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,’ एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ । उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन् ।
रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो ।
बिहीबारसम्मा रुसले युक्रेनमा मुख्य सहरमा कब्जा जनाएको छ । ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान रुसको कब्जामा जनाएकोे पहिलो मुख्य सहर भएको छ । अर्का बन्दरगाह सहर मरियापोलमा रुसी घेराबन्दीले मानवीय संकट उब्जिएको थियो ।
किभ नजिक रुसी बख्तरबन्द गाडीहरूको लस्कर यथावत छ । राजधानीमा ठूल्ठूला विस्फोटन भएका छन् ।
यसैबीच युक्रेन र रुसबीच दोस्रो चरणको शान्तिवार्ता पनि संचालन हुने विभिन्न संचारमाध्यामले जनाएका छन् ।