नारायणको राजनिति यात्रा, तरुणदल हुँदै बाँके सभापतिसम्म
Friday, March 4th, 2022, 8:54 pm
Kalpristha
कुशल संगठकको परिचय बनाएका नारायणप्रसाद गौडेल कांग्रेसको राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । कोहलपुर निवासी गौडेलले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रीय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका छन् ।
२०६१ सालमा क्षेत्रीय सभापति बनेका गौडेल २०५९ मा बाँके कांग्रेसको सहसचिव बनेका थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा उनी केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए ।
जनआन्दोलन २०६२÷६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिबेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।
हाल महासमिति सदस्यका रुपमा क्रियाशील गौडेल १३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । यसपटक सभापति बनेर बाँके कांग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए ।
नेपाली कांग्रेस बाँकेको शिक्षा विभाग प्रमुख बनेर काम गरेका गौडेल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको सभापति र बाँके शाखा सदस्य पनि भए । निरन्तरको क्रियाशीलता र पार्टीका नेता कार्यकर्तासंगको निकटता तथा सुमधुर सम्बन्ध आफ्नो चुनाव जित्नुको आधार भएको गौडेल बताउँछन् ।
कांग्रेस बाँकेलाई पुरानै साखमा फर्काउन सुदृढ, गतिशील र सक्षम कांग्रेस बनाउने आफ्नो अठोट अब पूरा गर्ने अवसर पाएको गौडेल बताउँछन् । सबै तहका निर्वाचनमा पार्टीलाई जिताउँदै जिल्लामा पार्टीलाई एक नम्बर बनाउने आफ्नो संकल्प रहेको गौडेलको भनाइ छ ।