भाजुमान बा
Saturday, March 5th, 2022, 1:07 pm
Kalpristha
गएको मंसिरमा मात्र तेस्रो जंको गरेका भाजुमान बा कानमा लगाएको मुन्द्रा हल्लाउँदै लठ्ठी टेक्दै आएर पेटीमा टुसुक्क बसे । यो यही ठाउँ हो जुन ठाउँमा समीको विशाल रुख थियो । केटाकेटीमा भाजुमान बा आफ्ना साथीहरुसँग रुखमा चढ्दै ओर्लदै खेल्ने गर्दथे ।
वरिपरिको वन बुट्यान र हरियालीले रमणिय बनाएको थियो यो ठाउँ । समी र चाँपको रुखको बीचम भएको पोखरीमा कहिले पनि पानी सुक्दैन्थ्यो । जुजुमानसँग पोखरीमा पौडदै छोई डुम खेलेको अझै याद आउँछ उनलाई ।
माधवनारायण का भक्त ब्रतालुहरु आएर उनीहरु खेल्ने पोखरीमा स्नान गर्ने समयमा उनीहरुलाई टाढा भगाईन्थ्यो । खाली पैताला आउने ब्रतालुहरुलाई हिंड्न सजिलो होस भनेर बाटोको तिखा छेस्काहरु हटाउन लगाईन्थ्यो ।
हिजो रुख बिरुवा भएको ठाउँमा ईटाका ठूला–ठूला भवन बनेका छन् ।
चाँपको रुख भएको ठाउँमा एउटा सरकारी भवन बन्दै गरेको छ ।
आज पनि माधव नारायणको भक्त ब्रतालुहरु उनीहरु यस ठाउँमा धार्मिक विधिपुर्वक स्नान गर्न आउँदै छन् ।
उनीहरुको स्वागत गर्न टोल छिमेकीहरु कुरेर बसेका छन् ।
पहिला कहिले पनि पानी नसुक्ने पोखरी पुरिएको छ त्यस कारण आज दिनको लागि मात्र भनेर हल्का खनेर वडा कार्यालयले उपलबध गराएको पलास्टिकमा खानेपानीको ट्याङ्करबाट पानी खन्याएर नुहाउने व्यवस्था गरिएको छ ।
भाजुमान बा कानको मुन्द्रा हल्लाउदै यताउता हेदछन् मनमनै कति पुरानो पोखरी वरिपरि कति घर बनेछन् गन्न थाल्छन् ।