१२ लाख युक्रेनीले देश छाडे
Saturday, March 5th, 2022, 9:06 pm
Kalpristha
रुस र युक्रेनबीचको युद्धा कारण १२ लाख युक्रेनीले देश छाडेका छन् । युक्रेन छोडेको संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायको तथ्यांकले सो डाटा उपलब्ध गराएको हो ।
युक्रेन छाड्ने आधाभन्दा बढी संख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको छन् ।
बिहीबार ३ मार्चसम्म उपलब्ध पछिल्लो तथ्यांक अनुसार करिब ६ लाख ५० हजार मानिस पोल्यान्ड पुगेका हुन् । त्यस्तै एक लाख ५० हजार हंगेरी र बाँकी अन्य युरोपेली राष्ट्र मल्डोभा, स्लोभाकिया र रुमेनियामा पुगेको तथ्यांंक रहेको छ ।
अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्ने बीबीसीले जनाएको छ ।
युक्रेनमा युद्धअघि करिब चार करोड ४० लाख जनसंख्या रहेको थियो ।
तीन हत्या प्रयास
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ । दुवैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ छ ।
रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ ।
राष्ट्रपतिको हत्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई युक्रेनी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो । रुसी सेनाले युक्रेन हमलालाई झनै आक्रमक बनाएको छ । शुक्रबार मात्र रुसी सेनाले युक्रेनको आणविक केन्द्रमा आगो लगाइदिएको थियो । आगो लगाइदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ । युरोपकै ठूलो बताइएको सो आणविक केन्द्रमा भएको हमलाको विश्व समुदायले निन्दा गरेको छ ।
रुसी सेनालाई समाप्त पार्छौं
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् ।
यसैगरी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् ।
रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाशमा ‘नो फ्लाई जोन’ बनाउन माग गर्दै आएको छ । तर यसो गर्दा रुस–युक्रेन युद्ध अन्य देशमा पनि फैलिन सक्ने भन्दै नेटो गठबन्धले ‘नो फ्लाई जोन’ घोषणा गर्न अस्वीकार गर्दै आएको छ । यसप्रति युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आक्रोश प्रकट गरेका छन् ।
अस्थायी युद्धविराम
मस्को–रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छन् । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् ।