नेपालगन्जलाई बालविवाहमुक्त घोषणा
Monday, March 7th, 2022, 8:35 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकालाई बालविवाहमुक्त घोषण गरिएको छ । सोमबार उप–महानगरपालिकाका आयोजित कार्यक्रममा १२ वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
बाँकी रहेका वडालाई बालविवाहमुक्त वडा घोषणा गरेसँगै समग्रमा उप–महानगरपालिका बालविवाहमुक्त घोषणा भएको छ ।
सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको बताए ।
नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले चुनौतीकाबीचमा पनि नगरलाई बालविवाहमुक्त घोषणा गर्न सकिएको बताइन् । उनले घोषणा कार्यान्वयनका लागि सबै नगरवासीको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एमालेका नेपालगन्ज उप–महानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, उप–महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, वडा नम्बर १७ का वडा अध्यक्ष अजय पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य, कार्यपालिका सदस्य, सामाजिक संघ संस्थाका प्रतिनिधी, कर्मचारी, बालक्लबका प्रतिनिधी लगायतको सहभागिता थियो ।
घोषणाअघि गरिएको सर्भेक्षणमा नेपालगन्जमा ५.७७ प्रतिशत मात्रै बालविवाह भएको पाइएको छ ।