लिग विजेता खेलाडीको हौसला बढाउँदै खजुरा
Wednesday, March 16th, 2022, 9:30 pm
Kalpristha
फुटलबका चर्चित पालिकामा पर्छ बाँकेको खजुरा । शैक्षिक स्तरमा अन्य पालिका भन्दा अगाडी रहेको खजुरा खेलकुदका क्षेत्रमा पनि अब्बल बन्दै गएको छ ।
भौतिक पुर्वाधारमा धनी बन्दै गएको खजुराले मैदानमा सफलता बढाउँदै गएको छ ।
जसको उदाहरण हो मंगलबार भएको बाँके जिल्ला लिग फुटबलको फाइनल खेल । फाइनलमा खजुराको न्यु डाँफे स्पोर्टस क्लबले नेपालगन्जको युनाइटेड युथ क्लबलाई ३–१ ले हराउँदै च्याम्पियन बन्यो ।
च्याम्पियन टिमले खुसीयाली मनाइरहेका बेला खजुराका जनताले खेलाडीलाई हौसला बढाउने अभियानको सुरुआत गरेका छन । जसको सुरुआत गरे बुधबार खजुरा गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले ।
घरेल टोलीलाई बधाई तथा शुभकामना दिन आएका अध्यक्ष कक्षपतिले भाषणका क्रममा प्रदेश लिग जिते ५ लाख नगद पालिकाबाट दिने घोषणा गरे ।
तर त्यसको केहि बेरमै अध्यक्ष कक्षपतिले प्रदेश लिग खेल्न अघि टिमलाई तयारी खर्च १ लाख दिने घोषणा गरे । उनको घोषणामा थप उर्जा थप्ने काम गरे बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले । शाहीले अभ्यास गर्ने खेलाडीलाई व्यक्तिगत रुपमा २१ हजार र ५ वटा बल दिने घोषणा गरे । जिल्ला फुटबल संघको बैठकले पछि थप निर्णय गरेर संस्थागत रुपमा सहयोग गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।
अध्यक्ष कक्षपतिले भने, ‘खजुराले खेलकुदमा कुल बजेटको २ प्रतिसत भन्दा धेरै रकम खर्च गरेको छ । हामीले खेलकुदको क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याई गरेका छौं । हामी बाँकेमा खेलकुदको स्तरहोस या पुर्वाधार । दुबैमा अब्बल छौं । त्यसको प्रमाण हो यसक्षेत्रका अन्तराष्ट्रिय खेलाडी ।’
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले न्यु डाँफे बाँके जिल्ला इतिहास बोकेको क्लब भएकोले यसले प्रदेश लिगमा च्याम्पियन बन्ने बताए ।
उनले भने, ‘मलाई धेरै खुसी लागेको छ । न्यु डाँफेले फाइनल जुन प्रर्दशन गरेको छ । सबै खेलाडी १६–१७ वर्षको हुनुहुन्छ । यो भनेको क्लबका लागि निकै राम्रो कुरा हो । उहाँहरुको भविष्य निकै राम्रो छ ।’
खजुरा गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष तिलकवीर सुनारले खेलाडीलाई राज्यको निकाय र संघको सहयोग भएमा मात्र नतिजा राम्रो तर्क पेस गरे ।
उनले भने, ‘म राजनिति भन्दा फुटबललाई बढी माया गर्छु । फुटबलमा हाम्रो वडाले लगानी पनि गरेको छ । क्लबको मिहिनेत र खेलाडी भाइहरुको लगनशीलताले आज सफलता हासिल गरेका छौं । तर खेलाडीलाई यो भन्दा माथिल्लो स्तरमा अवसर दिलाउनका लागि एउटा वातावरणको आवश्यकता पर्छ । त्यसमा सबैको सहकार्य जरुरी छ ।’