तोडिदैछ जुनियर क्रिकेटको ‘ब्रेक’
Thursday, March 17th, 2022, 12:59 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, ३ चैत
उमेर समुहका प्रतियोगिता नेपालमा निकैं कम हुने गर्छ । महिलाहरुको त झन बिरलै हुन्छन । झन्डै एक दशक भयो यु–१९ महिला क्रिकेटरले घरेलु प्रतियोगिता खेल्न नपाएको । क्रिकेट प्रशिक्षक जमिल अन्सारीका अनुसार सन् २०१२ मा सिंगापुरमा भएको यु–१९ क्रिकेट पछि उमेर समुहको क्रिकेटमा ‘ब्रेक’ लाग्यो । नेपाली क्रिकेटको सर्वोच्च निकाय(क्यान) आइसिसीको प्रतिबन्धमा प¥यो । त्यसपछि नेपालको प्रायः सबै प्रतियोगिता प्रभावित भए । पछि विस्तारै सिनियर स्तरमा भएका व्यवसायिक र मोफसलमा केहि प्रतियोगिताले नेपाली क्रिकेटलाई धान्यो । तर महिला क्रिकेट भने त्यतिधेरै प्राथमिकतामा परेन । यस्तोमा झन जुनियर स्तरको प्रतियोगिता त झन हुने कुरै भएन । विगतमा उच्च स्तरको सफलता प्राप्त गरेको महिला राष्ट्रिय क्रिकेट टिमको सफलता पनि घट्दै गयो । तर अहिले महिला क्रिकेटमा नयाँ आसाको किरण जागेको बताउँछन क्रिकेटकर्मीहरु । अहिलेको देशभरका खेलाडीको तयारी र क्यानको व्यवस्थापनले जुनियर स्तरमा ‘ब्रेक’ लागेको गति तोडिदैनछ ।
जुनियर महिला खेलाडी उत्पादन गर्ने लक्ष्य सहित क्यानले फेरी यु–१९ क्रिकेटको सुरुआत गर्दैछ । जसले महिला खेलाडी र अफिसियलमा उत्साह जागेको छ ।
जुनियर स्तरको महिला क्रिकेटमा ब्रेक लागेको क्रमलाई पन्छाउँदै धनगढीमा चैत ६ देखी ११ गते सम्म यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदैछ । करिब १० वर्ष पछि नेपालमा हुन लागेको महिलाहरुको जुनियर प्रतियोगिता हो ।
जुन प्रतियोगिताको गर्ने व्यवस्थापन पक्ष देखी लिएर खेल्ने खेलाडी सम्म निकै उत्साह साथ प्रतियोगिताको तयारी गरिरहेका छन । महिला खेलाडीलाई प्रशिक्षण गराउनेमा पुरुष राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक दिपेन्द्र प्रताव सिंह, जमिल अन्सारी, इरफान उसेन सैयद लगायतले मिहिनेत गरिरहेका छन ।
बाँकेको नेपालगन्जमा लुम्बिनी र कर्णाली प्रदेशको टोलीले बन्द प्रशिक्षण गरेर तयारी गरेको छ । अभ्यासका लागि मैदान अभाव भैरहेको बेला नेपाली सेनाको सहयोगमा महिला क्रिकेटरहरुले राझा स्थित आर्मी मैदानमा अभ्यास गरिरहेका छन । अभ्यासबाट निकै उत्साहि देखिन्छन पुर्व राष्ट्रिय महिला टोलीका प्रशिक्षक एवम् लुम्बिनी प्रदेशका प्रशिक्षक जमिल अन्सारी ।
अन्सारी भन्छन, ‘धेरै समय पछि शान्त ढंगबाट प्रतियोगिताको तयारी गर्ने समय पायौं । यु–१९ प्रतियोगिता भनेको राष्ट्रिय खेलाडी उत्पादन गर्ने एउटा अवसर हो । यसलाई हामी सक्दो उपयोग गर्नेछौं । हाम्रा खेलाडीले प्रतियोगिताको उपाधि जित्नेमा म ढुक्क छु ।’
लुम्बिनी प्रदेशकी कप्तान आस्मा पुलामी मगर पनि आफनो टिमको अभ्यासबाट राम्रो नतिजा आउनेमा विश्वस्त छिन । आस्मा भन्छिन, ‘हाम्रो ब्याटिङ र बलिङ राम्रो छ । फिल्डिङलाई बलियो बनाउन सके नतिजा राम्रो आउन सक्छ । त्यसका लागि सबैले मिहिनेत गरिरहेका छौं ।’
बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट सम्भवत बिहिबार कर्णाली र लुम्बिनी प्रदेशको टिम छनोट गरिनेछ । लुम्बिनी प्रदेश क्रिकेट टिम छनोट समितिका संयोजक कैलाश रोका मगर सहितको टिमले टोलीको छनोट गर्नेछ । लुम्बिनी प्रदेश प्रतियोगिताको मुख्य दाबेदारको रुपमा रहेको उनी बताउँछन ।
कर्णाली क्रिकेट टिमकी कप्तान बिना मगर पनि प्रतियोगिताको लागी तयारी राम्रो भएको बताउँछिन । अभ्यास खेल र बन्द प्रशिक्षणले खेलाडीको आत्मबल बलियो भएको उनले बताइन ।
यु–१९ प्रतियोगिता विश्व कपको छनोट सम्मका लागि भएकोले यसलाई महत्वपुर्ण रुपमा हेरेको बताउँछन लुम्बिनी–कर्णाली प्रदेश क्रिकेट समितिका अध्यक्ष दुर्गा बहादुर थापा । थापा भन्छन, ‘हामी निकै खुसी छौं । धेरै वर्ष पछि यस क्षेत्रका खेलाडीले उच्च स्तरको प्रशिक्षण र व्यवस्थापनमा अभ्यास गर्न पाए । यो प्रतियोगिता राष्ट्रिय स्तर हुँदै एसिसी र विश्व कपको छनोट सम्मका लागि भएकोले यसमा सबैको चासो छ । हाम्रो खेलाडीलाई हामी सक्दो राम्रो प्रशिक्षण दिने प्रयास गरेका छौं ।’
माथिल्लो स्तरको क्रिकेटमा आफनो करियर बनाउनका लागि धनगढीमा हुने यु–१९ क्रिकेट एउटा सुनौलो अवसर भएको बताउँछन बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई । कर्णाली र लुम्बिनीका धेरै भन्दा धेरै खेलाडीलाई राष्ट्रिय टिममा पुग्नका लागी प्रतियोगिता अवसर बन्न सक्ने उनको तर्क छ ।