देशभर गर्मी बढ्यो
Saturday, March 19th, 2022, 8:59 pm
Kalpristha
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसमविद् अनुसार मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी रहेको छ । मनसुनी प्रणाली नहुँदा आकाश खुला हुनुका साथै गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा भएकाले घाम तातो हुने र तापक्रम बढ्ने विद्हरुले जनाएका छन् ।
शुक्रबार सबैभन्दा बढी तापक्रम धरानमा ३७.२ डिग्री र जनकपुरमा ३७ डिग्री मापन भएको छ । त्यस्तै नेपालगन्जमा ३४.६ डिग्री मापन गरिएको छ ।
त्यसैगरी बिहीबार नेपालगन्जको तपक्रम ३३.३ डिग्री रह्यो । जनकपुरमा भने ३५ डिग्री भैरहवामा ३३.९, सिमरामा ३४.८, विराटनगरमा ३५.५ र धनगढीमा ३३.२ मापन गरिएको छ । भैरहवामा भने तापक्रम एक दिनमै २.९ डिग्रीले बढेको छ । अन्य क्षेत्रमा पनि तापक्रम वृद्धि भएको महाशाखाले तथ्यांकले देखाएको छ ।
तराई मात्र होइन, पहाडी क्षेत्रमा पनि तापक्रम बढेको छ । शुक्रबार दिपायलको अधिकतम तापक्रम ३४.२ पुगेको छ । त्यस्तै, वीरेन्द्रनगरमा ३२.६, घोराहीमा ३२.८, ओखलढुंगामा २८.४ र जुम्लामा २७ डिग्री मापन भएको छ ।
हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ । भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ । नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
आइतबार सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सोमबार पनि पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।