बाख्रा पालनमा रमाएकी भवानी
Sunday, March 20th, 2022, 9:09 am
Kalpristha
रजनी योगी
बाँकेको डुडुवा गाउँपालिका–५, पदमपुरकी भवानी बोहोराले विगत चार वर्षदेखि व्यवासायिक रुपमा बाख्रा पालन गर्दै आएकी छिन् । ६ वटा बाख्राबाट व्यवसाय सुरु गरेकी उनले अहिले ५० वटा बाख्रा पालेकी छिन् ।
हरियो वन कार्यक्रममार्फत सुरु भएको बाख्रापालन अहिले व्यवसायीक रुपमा अगाडि बढेको छ । कार्यक्रमले कुनै पनि व्यवसाय गरेवापत ४० हजार रुपैयाँ दिने भएकाले सुरुमा बोहोराले ६ वटा बाख्रा खरिद गरेर भवानी बोहोरा बाख्रा पालन फार्म संचालनमा ल्याइन् ।
बोहोराले भन्छिन्, ‘७५ वटासम्म बाख्रा भएपछि डडेल्धुरा र नेपालगन्जको हिरमिनिया पठाए । त्यसपछि अहिले खरी जातको, लोकल, जमुनापारि, बोयर बाख्रा र बाबरी जातका ठूला र साना पाठा गरी ५० वटा बाख्रा फार्ममा छ ।’
व्यवसायीक रुपमा बाख्रा पालन सुरुगरेपछि घरको खर्च, छोराछोरी पढाउने लगायतमा सहयोग पुगेको उनले बताइन् । बाख्रा व्यवसायबाट चार कट्ठा बढी जग्गा पनि खरिद गर्ने लागेको बोहोराले बताइन् ।
बोहोरा बाख्रा पालनबाट वार्षिक सम्पूर्ण खर्च कटाएर एक लाख रुपैयाँ आम्दानी भई रहेको बताउँछिन् ।
‘घाँस रोप्नको लागि आफूसँग थोरै पनि जग्गा छ भने बाख्रा पालन गर्न त्यती गाह्रो छैन तर आफूसँग जग्गा भएन भने बाख्रा पालन गर्न गाह्रो हुन्छ । त्यसैले केही जग्गा किन्न खोजेकी हुँ,’ उनले भनिन् । बाख्राको हेरचाहको लागि एकजना लाग्नु पर्ने बोहोराले बताइन् ।
भवानी बोहोरा नजिकैको विद्यालयमा बालविकास तहका बालबालिकालाई पढाउने शिक्षिका पनि हुन् । उनी विद्यालयबाट दिउँसो २ बजे घर फर्किन्छिन् र उनी विद्यालय हुँदा उनका श्रीमानले बाख्रा हेरचाहा गर्ने गरेका छन् । विद्यालयबाट फर्केपछि भने उनी पनि श्रीमानसँगै बाख्राको हेरचाहमा लाग्छिन् । उनका श्रीमान पनि चार वर्ष अगाडि विदेश गएर फर्केका हुन् । विदेशबाट फर्केपछि उनका श्रीमान पनि बाख्रा पालन व्यवसायमा नै व्यस्त रहेका छन् ।
बोहोरा बाख्रा बिक्री गर्न तेती असहज नभएको अनुभव सुनाउँछिन् । उनी घरमै उत्पादन गरेपछि घरमै बाख्रा लिन व्यापारीहरु आउने गरेको बताउँछिन् । उनले पालन गरेको जमुनापारि, खरी जातको र लोकल जातको बाख्रा बिक्री बढी रहेको बोहोराले बताइन् ।
‘अन्य बाख्रा भन्दा जमुनापारि, खरी जातको बाख्रा सस्तो मूल्य भएर पनि यी जातका बाख्राहरु धेरै बिक्री हुने गरेको हो । दशैंको समयमा झन बढी खसी बाख्रा बिक्री हुने गर्दछ,’ बोहोराले भनिन् ।
उनले स्थानीय सरकारले केही हतसम्म सहयोग गरेको बताइन् । उनले स्थानीय तहबाट बेलन जातको बोका पाइएको छ भने बाख्रा बिरामी हुँदा निःशुल्क औषधि उपचार हुने बताइन् । बोहोरा गाउँपालिकाले खोर सुधार, बाउण्डरी र राम्रा जातका बाख्रा खरिदको लागि केही बजेट सहयोग गरिदिए बाख्रा पालन व्यवसायीलाई अझ बढी सहयोग मिल्ने सुझाउँछिन् ।
हुन त अहिले पनि युवाहरुलाई विदेश मोह धेरै छ । कोही रहरले त कोही कहरले नेपाली युवाहरु विदेशी रहेका छन् । त्यसरी विदेशिने युवालाई उनी थोरै लगानीबाट भएपनि स्वदेशमै व्यवसाय सुरु गर्न सुझाव दिन्छिन्, बोहोरा । गाउँमै लगानी ग¥यो भने विदेश गएर गरिने आम्दानी घरमै बसेर गर्न सकिने उनको अनुभव रहेको छ ।