आजदेखि म्यादी प्रहरीका लागि आवेदन दिन पाउने
Sunday, March 20th, 2022, 9:25 am
Kalpristha
स्थानीय तह निर्वाचनका लागि देशभर खुलाएको म्यादी प्रहरीमा आज (आइतबार) देखि आवेदन दिन पाउने छ ।
बाँकेमा पनि एक हजार ६ सय ८६ जनामा आवेदन दिन पाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
देशभरका ७७ वटै जिल्ला चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भनाका लागि आवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ ।
४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।
भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान÷निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश÷उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।
म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ ।