नरैनापुरमा इलाका प्रशासन पुनःस्थापना गर्न माग
Sunday, March 20th, 2022, 8:57 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेले नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न माग गरेको छ ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको नेतृत्वमा आइतबार नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको लागि प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
प्रमुख जिल्ला अधिकारी खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सभापति गौडेलले नरैनापुरका जनता सरल, सहज र छिटो छरितो सेवा पाउने अधिकारबाट बञ्चित भएको भन्दै एक साताभित्र नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न ध्यानाकर्षण गराए ।
नागरिकता लगायत सामान्य प्रशासनिक कामका लागि लामो दुरी तय गरेर नेपालगञ्ज आउनुपर्ने बाध्यता स्थानीयले ब्यहोर्नुपरेको औंल्याउँदै सभापति गौडेलेलले नरैनापुरबासीलाई झञ्झटिलो अवस्थाबाट छुटकारा दिन वडा नम्बर ५ मटेहियामा तत्काल इलाका प्रशासन कार्यालय पुनःस्थापना हुनुपर्ने बताए ।
कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले पहिले भन्दा परिस्थिति सबै कोणबाट अहिले सहज बनिसकेकाले नरैनापुर गाउँपालिका र राप्तीसोनारीका गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई समेत पायक पर्ने हिसाबले अबिलम्ब इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न प्रजिअ खत्रीको ध्यानाकर्षण गराए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ खत्रीले छिटो भन्दा छिटो नरैनापुरको उपयुक्त स्थानमा इलाका प्रशासन कार्यालय पुनःस्थापना गरिने बताए । उनले भने,‘तपाईंहरुको माग छिटो भन्दा छिटो सम्बोधन हुने गरी पहल गरिरहेका छौं । गृह मन्त्रालयमा कर्मचारी माग गरिसकेका छौं । कर्मचारीको व्यवस्था भयो । जतिसक्दो नरैनापुरको उपयुक्त स्थानमा कार्यालय पुनःस्थापना गछौं ।’
नेपाली कांग्रेसका महासमिति सदस्य एवम् नरैनापुर गाउँपालिका– ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कार्यालयका लागि आफ्नो निजी भवन पाँच महिनासम्म निःशुल्क उपलब्ध गराउने समेत बताएका थिए । यसअघि नरैनापुरमा रहेको इलाका प्रशासन कार्यालय हटाई केही बर्षदेखि नेपालगञ्जबाटै सेवा सञ्चालन भइरहेको छ ।
क्याप्सनः प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै बाँके कांग्रेस सभापति लगायतका नेताहरु । तस्विरः नविन गिरी