म्यादी प्रहरीमा १ हजार २ सयले दिए आवेदन
Sunday, March 20th, 2022, 8:58 pm
Kalpristha
स्थानीय तह निर्वाचनका लागि बाँकेमा एक हजार दुई सयभन्दा बढीले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् ।
यो समाचार तयार पर्दासम्मजिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुधन न्यौपानेका अनुसार आवेदन दिनेमध्ये एक हजार दुई सय जनाको आवेदन एकिन गरिएको छ ।
देशभर खुलाएको म्यादी प्रहरीमा आइतबारदेखि आवेदन खुला गरिएको हो । जसअन्तर्गत बाँकेमा पनि एक हजार ६ सय ८६ जनामा आवेदन दिन पाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको थियो । देशभरका ७७ वटै जिल्ला चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भनाका लागि आवेदन दिन सक्नेछन्।भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ ।
४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।
भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान÷निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश÷उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्डमा उल्लेख गरिएको छ ।
म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।