सहकारीमा जोडिँदै महिला उद्यमी
Tuesday, March 22nd, 2022, 8:47 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकाका महिलालाई सहकारीमा आवद्ध गर्दै उद्यमी महिला बनाउने अभियान सुरु गरिएको छ । ८ वटा वडाका करीब ३ हजार परिवारलाई सहकारीमा जोड्ने कार्यक्रम अन्तरगत १ हजार ८ सय परिवार सहकारीमा आवद्ध रहेको र १ हजार २ सय परिवारलाई अभियानका साथ जोड्न गइरहेको जनाइएको छ ।
खजुरा गाउँपालिकामा रहेका २ वटा सामाजिक उद्यमी महिला सहकारीमा उनीहरुलाई आवद्ध गरी व्यवसाय विकासमा अग्रसर गराउने कार्यक्रम रहेको छ । सो अभियानअन्तर्गत मंगलबार खजुरा वडा नम्बर ३ र ४ का करिब ४ सय बढी महिलालाई अभियानबारे जानकारी दिइएको छ ।
व्यवसाय विकासका लागि उत्पादन सामाग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधि, वित्तीय सेवा बचत ऋण र बिमा, संस्थागत गरिने, बजाजीकरण गर्न मार्केट सेन्टरको खोजी पनि सहकारी मार्फत गर्न उक्त कार्यक्रम संचालन गर्न लागिएको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद पोख्रेलले जानकारी दिए ।
गत माघ महिनाबाट संचालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रममा खजुराका हरेक वडाबाट २ सय महिला र गाउँपालिका भरी करीब २ सय युवा उद्यमी आवद्ध छन् ।
भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ती सिकाऔँ भन्ने मूल नाराका साथ खजुरा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सहकारी सदस्यता अभिवृद्धि अभियान कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उद्यमी र उद्यमशील बनाउने परियोजना रहेको उल्लेख गरे । उनले १÷२ बाख्राबाट शुरु गरेको व्यवसाय सफल पारेर देखाउन सके प्रदेशमै नमूना हुने बताए ।
साझेदारी संस्था इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले परियोजनाले आर्थिक सामाजिक र राजनीतिक सशक्तीकरण गर्ने बताए । वडा नम्बर ४ मा वडाध्यक्ष तिलकवीर सुनार र वडा नम्बर ३ मा कान्तुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, विभिन्न महिला समूहका अध्यक्षलगायतले अभियानबारे आफ्नो कुरा राखेका थिए ।