मन्त्रीलाई सांसदबाट हटाउन माग
Tuesday, March 22nd, 2022, 9:05 pm
Kalpristha
नेपालगन्ज, ८ चैत (कालपृष्ठ डेस्क)–लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी प्रदेशसभा सदस्यको सूचीबाट हटाउन माग गर्दै जसपा नेपालमा निवेदन परेको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ की रुपा थापा क्षेत्रीले रायमाझीलाई निर्वाचित सूचीबाट हटाई आफ्नो नाम समावेश गर्न माग गर्दै जसपा नेपालको केन्द्रीय कार्यालय, लुम्बिनी प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् ।
शंकर पोखरेल नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि पनि उनी झमेलामा परेकी थिइन् । पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो । पार्टीले गरेको कारवाहीलाई चुनौती दिँदै उनीसहितका ४ जना सांसद अदालत पुगेका थिए । रायमाझीको मुद्दा तामेलीमा परेको छ भने लगत्तै उनले आफूलाई सांसद बनाउनु पर्ने मागसहित निवेदन दिएकी छन् ।
त्यो बेला पार्टीले रायमाझीसँगै सांसदहरु सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई कारबाही गरेको थियो । अदालतमा मुद्दा चलेकै अवस्थामा रायमाझी एमाले नेतृत्वको तत्कालीन सरकारबाट फिर्ता भइन् भने पार्टीले पनि कारवाही फिर्ता लियो । पार्टीमा फर्केपछि उनलाई गठबन्धन सरकारमा सहभागी गराइयो ।
कारबाही फुकुवाको कागज अदालतमा पेस नगरेपछि उनको मुद्दालाई अदालतले तामेलीमा राखिदिएको थियो । त्यसैलाई आधार मान्दै अहिले रुपाले मन्त्री रायमाझीलार्ई झमेलामा तान्ने प्रयास गरेकी छन् ।